१२ औं पोखरा महोत्सबको तयारी सकियो

Featured मनोरञ्जन समाचार

१२ औं पोखरा महोत्सब तयारी सकिएको छ । आयोजक युनाइटेड क्लबले पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।रवि एन्ड सन्नी इन्डष्ट्रिज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा पुस २६ देखि माघको ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा महोत्सव हुँदै छ । यो मेलामा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

क्लबले यसपालिको महोत्सवदेखि लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा बिपन्न विद्यार्थीका लागि आवासीय छात्राबास निर्माण र सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने भएको छ । स्थापना कालदेखि नै महोत्सवमार्फत् शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणका लागि क्लबले काम गर्दै आएको छ ।

महोत्सव साढे २ लाखले हेर्ने अपेक्षा छ भने अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मीलाई सित्तैमा महोत्सव प्रवेश दिइने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवले कला, संस्कृति, भेषभूषा संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर लैजान सघाउने आयोजकको अपेक्षा छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला, संस्कृति प्रदर्शनी, औधोगिक उत्पादन प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामान प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यावसायिकक संघ, संस्थाका सेवाबारे जानकारी, स्थानिय, पर्यटन प्रवद्र्धनका सामग्रीको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी दिइनेछ । नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधि, हिमाली भेगमा पाइने याक प्रदर्शन गरिनेछ ।

सांस्कृतिक कार्यक्रमतर्फ लोकदोहोरी गायक बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, ज्योति मगर, प्रकाश दुतराज, शान्तिश्री परियार, श्याम राना, समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायतले मनोरञ्जन दिने छन् । कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससँगै लोकल ब्याण्डहरुको प्रस्तुति रहनेछ ।

हांस्य व्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत कार्यक्रमसमेत हुनेछन् ।
पत्रकार सम्मेलनमा क्लबका महासचिव दिनेश सुनार र वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय व्यवस्थापन उपसमिति संयोजक लोकबहादुर थापाले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *