साइबर सेक्युरिटी विषयमा ४ हजार व्यक्तिलाई तालिम दिँदै काठमाडौँ महानगरपालिका

Featured समाचार सूचना-प्रविधि

पुस २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य छ । लक्ष्यमा सहयोग पु¥याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको हो । माघ २ गते यसको औपचारिक शुभारम्भ हुनेछ ।

काउन्सिल, साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक ह्याकर क्रेडेन्सियलको आविष्कार हो । यो सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ । साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

गएको बर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन । उहाँ भन्नुहुन्छ, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ । कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ ।’

माघ २ गते दिनको २ बजेदेखि राष्ट्रिय सभा गृहमा आयोजना हुने शुभारम्भ अवसरमा उपस्थित हुन चाहनेहरुले तलको लिङ्क थिचेर नाम दर्ता गराउन सक्नुहुनेछ । करिब २ मिनेटको समयमा फारम भर्न सकिनेछ । 

https://shorturl.at/quAJV

कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् । ‘हामीले विभिन्न ३४ विधामा तालिम दिँदैछौँ । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौँ । साइबर सेक्युरिटी तालिमले १५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्यमा योगदान दिनेछ ।’ पहाडीको भनाइ छ ।

अन्य तालिम सञ्चालन गर्न ४० वटा तालिम कक्ष (प्रयोगशाला) तयार भइरहेका छन् । तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार इलेक्ट्रिसियन, कम्प्युटर, व्युटिसियन, कपाल काट्ने सैलुन (हेयर कट), फेसन डिजाइनिङ्, टेलरिङ्, कुलिनरी आर्ट, कम्प्युटर हार्डवेयर, सीसीटिभी जडान, भर्टिकल फार्मिङ् र गार्डेनिङ् लगायत तालिमका लागि कक्ष तयार भइरहेका हुन् ।

यसपछि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङ्का तालिम सुरु हुँदैछन् ।

साइवर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइनेछ । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला यस्ता प्रणाली सञ्चालन हुने प्लेटफर्म, यस्ता प्लेटफर्महरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् ।

 

twitter sharing button
messenger sharing button
whatsapp sharing button
email sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *