पहिलो प्राण अनि प्राणभन्दा प्यारो संस्कृति :जीवन रहे सँधै तीज,सँधै बुवाआमाको मुख हेर्ने दिन !

विशेष

-डा रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ

अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं | हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् | को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन | तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु | त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ | हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ | दरले डर हुन्छ | घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ | यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं / हेरौं |

तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ

त्यस्तै कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला | हामी संक्रमित हुनसक्छौं | हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ | उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ | संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ |

यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफुपनि पाहुना भएर कतै नजाऔं | महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् | दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुवाआमालाई नभेट्दा उहाँहरुले के सोंच्नुहोला भनेर हामीले नसोचौं | महामारीको समयमा पाहुना नबोलाएमा वा आफुपनि नगएमा उहाँहरु खुसी हुनुहुनेछ | यसपटक फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्बाद आदानप्रदान गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *