के हो वेद ?

विशेष

-देवराज पुरुष

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हो, जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो ।

वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक–अर्काबाट सुनेर सम्झना राखियो । यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिकरश्रुति, श्रवण परम्पराको अनुपम कृति हो, जुन पिढीँ दर पिढीँ चार–पाँच हजार वर्षदेखि चल्दै आएको छ ।

वेदहरूको महत्व
हिन्दू संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म–ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो ।मानव–जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरू भन्दा प्राचीन कुनै पुस्तक छैन ।वेदका चार विभाग छन् : ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।

ऋग्वेद
वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ । ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको छ । यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् ।

सामवेद
सामवेद मा गाउन मिल्ने छन्दहरू छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस वेदमा १८२४ मन्त्र छन् र ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् । तैपनि यसको आफ्नै विशिष्ट महत्व छ । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले ‘वेदानां सामवेदोsस्मि’ भनेर यसको महत्वलाई उजागर गर्नुभएको छ । सामवेद आकारमा सानो भएपनि यो सबै वेदको सारस्वरूप रहेको छ र सबै वेदका प्रमुख अंश यसमा परेका छन् । सामवेद ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी हो ।यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको छ । विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण छ ।

यजुर्वेद

यजुर्वेदका दुई शाखा छन् । नेपाल र उत्तर भारततिर शुक्लयजुर्वेद अनि दक्षिण भारततिर कृष्णयजुर्वेद प्रचलित छ । यसमा ४० अध्याय छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् । त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो । यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको छ । विश्वविख्यात गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् । यसमा दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय पनि समाविष्ट छन् ।

अथर्ववेद
यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको छ । यसका अलावा यसमा चिकित्सा, विज्ञान र दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् । भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् । मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व छ । यसमा २० काण्ड छन् ।वेदका छ अंग छन् : शिक्षा ,छन्द ,व्याकरण ,निरुक्त,ज्योतिष र कल्प ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *