प्रदेश प्रहरी तालिम केन्द्र सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना तालिम केन्द लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङले आग्रह गरे

गण्डकी प्रदेश समाचार

पोखरा साउन २४ गते,

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सङ्गठनको साङ्गठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन संरचनाको निरीक्षण तथा केन्द्रको गुरुयोजनाका बारेमा आज जानकारी लिँदै उनले केन्द्रलाई आवश्यक सहयोग तथा समन्वयका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरि बहादुर चुमान समेत उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम केन्द्र परिसरमा वृक्षारोपण समेत गरिएको छ ।


ज्ञान, कला, कौशल र सिपले भरिपूर्ण प्रहरी कर्मचारीहरु उत्पादन गर्ने अन्तराष्ट्रिय स्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा उक्त तालिम केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरुको भूमिकाका विषयमा छलफल तथा अन्तरक्रिया गरी आगामी कार्ययोजना तय गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजन गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भईरहेका विविध गतिविधिहरु, विभिन्न विधाका प्रशिक्षणहरु, निर्माण सम्पन्न भएका तथा निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र संचालनका लागि तत्काल आवश्यक स्रोतसाधन लगायतका विषयमा माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा उपस्थित अन्य  लाई जानकारी गराउनु भयो डिजिटल नक्सा मार्फत तालिम केन्द्रको गुरुयोजना समेत प्रस्तुत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री  गुरुङले उक्त तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देश कै नमूना प्रहरी तालिम केन्द्रका रुपमा स्थापना गरि थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सकिने गरि निर्माणकार्य अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
साथै नेपाल प्रहरी संगठनको संगठनिक तथा भौतिक विकास सधै आफ्नो प्राथमिकताको रहेको बताउँदै प्रदेश सरकार सहयोग तथा समन्वयका लागि हरप्रहर तत्पर रहेको बताउनुभयो ।
उक्त छलफल कार्यक्रममा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल लगायतले उक्त तालिम केन्द्रको निर्माणसंग सम्बन्धित आ-आफ्नो रचनात्मक राय तथा सुझाव समेत व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी., गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *