आषाढ १५ फलेबास, पर्वत
पर्वतको फलेबास नगरपालिकाको वडा नं ४ सिर्सुवामा “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण चामल आयतमा न्युनिकरण” भन्ने मुल नाराका साथ १६ औं राष्ट्रिय धान दिवस-२०७६ मनाइएको छ । फलेबास नगरपालिका र कृषिज्ञान केन्द्र पर्वतको आयोजनामा सामुहिक रोपाई गरेर धान दिवस मनाइएको हो । गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न रोपाई कार्यक्रममा प्रमुख अतिथि मन्त्री गुरुङ्गले पावर टेलर र हलो जोत्नुभयो भने अन्य अतिथि देखि सहभागीहरुले नौमती बाजाको तालमा धान रोपाई गरे ।
साना र साँघुरा खेतबारीमा गरिने खेतीले उत्पादन सोचे अनुसार नहुने भएकाले कृषिलाई ब्याबसायिकरण गर्न गण्डकी प्रदेश सरकारले यस बर्ष देखि जमिन चक्लाबन्दी गर्ने कार्यक्र राखेको उहाँले जानकारी दिनुभयो । ठुला र ब्यबसायिक फर्म ,पशुपालनका क्षेत्रमा अनुदान दिने कार्यक्रम भैरहेको उहाँले बताउनुभयो ।
फलेबास नगरपालिका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले कृषिमा आत्मनिर्भर बन्ने योजना र बजेटको ब्यबस्था गरेको बताउनुभयो । उहाँले धान उत्पादनप्रति कृषकहरुलाई उत्प्रेरित गर्न हरेक बर्ष नगरपालिकाले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले धान उत्पादनलाई दोब्बर बनाउनका आधुनिक प्रबृधि, मल र उन्नत जात लगाउन आवश्यक भएको बताउँदै पर्वत जिल्लामा पनि बर्षेनी धान उत्पादन घट्दै गएका कारण यसलाई बढाउनका लागि हरेक क्षेत्रले सहयोग गर्नुपर्छ भन्नुभयो ।