२५ मंसिर, काठमाडौं । संघीय सरकारले विहीबार उधौली पर्व एवं योमरीपुन्हिका दिन सार्वजनिक विदा दिने निर्णय नगरेको सरकारका प्रवक्ता एवं सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
विहीबार मार्ग शुक्ल पूर्णिमाका दिन जनजाति समुदायले उधौली पर्व मनाउँछन् भने नेवार समुदायले योमरीपुन्हि मनाउने गर्दछन् ।
डिसेम्बर १२ को दिनलाई अन्तरराष्ट्रिय तटस्थ दिवस पनि मान्ने गरिन्छ ।
कतिपय सञ्चार माध्यमले गृहमन्त्रालयको हवाला दिँदै विहीबार संघीय सरकारले सार्वजनिक विदा दिएको चर्चा गरे पनि संघीय सरकारका तर्फबाट विदा दिने कुनै निर्णय नभएको मन्त्री बास्कोटाले अनलाइनखबरलाई बताए ।
‘स्थानीय पर्वहरुको सन्दर्भमा सूचना विभागले प्रकाशित गरेको क्यालेन्डर अनुसार हुन्छ । राष्ट्रिय रुपमा विहीबार विदाइ दिइएको कुरा अफवाह मात्र हो’ मन्त्री बास्कोटाले भने, यसबारे कुनै भ्रममा नपर्न म सम्बन्धित सबैलाई स्पष्ट पार्न चाहन्छु ।’
‘स्थानीय पर्वमा तत् तत्. ठाउँमा कसैले स्थानीय रुपमा विदा दिएका हुन सक्छन्’ भन्दै मन्त्री बास्कोटाले थपे, ‘तर, संघीय सरकारले यसमा विदा दिएको छैन ।’