दोलखाबाट काठमाडौँ आउदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १३ जनाको मृत्यु

समाचार

२०७६ मंसिर २९ गते ,काठमाडौँ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको मृत्युभएको कैयौ हताहत रहेको बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ ।

नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *