राजतन्त्र पुनर्स्थापित गर्ने षड्यन्त्र भैरहेको छ : सन्तोष बुढा मगर

Featured राजनीति विशेष

पोखरा, ५ माघ २०७५ l नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज ’शुरुवात गर्दै नेता सन्तोष बुढा मगरले यस्तो कुरा बताएका हुन् । आफ्नो मन्तव्यका क्रममा उनले नेपालमा दलाल संसदीय व्यवस्था असफल भैसकेको जिकी गरे । यस्तो अवस्थामा नेपालमा बैकल्पिक सत्ता संचालन गरेको ने.क.पा.लाई ध्वस्त पार्न र कम्युनिष्टको नाममा सत्तासीन बनेको सत्तारुढ नेकपालाई बदनाम गराउन साम्राज्यवादीहरुले विभिन्न षड्यन्त्रहरु गरिरहेको तथ्य उजागर गर्दै उनले सोही षडयन्त्र अन्तरगत नेपालमा राजतन्त्र पुनर्स्थापित गर्ने वा सत्तारुढ नेकपाभित्र खिचलो बढाएर कि प्रचण्डको नेतृत्वमा सरकार बनाउने त्यो पनि सम्भव नभए कांग्रेस र तात्कालीन माओवादी केन्द्रलाई मिलाएर शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विकल्पहरु साम्राज्यवादीहरुले अघि सारेको उनको भनाइ रहेको थियो । नेपालमा दलाल संसदीय व्यवस्था समाप्त हुँदासाथ बैज्ञानिक समाजवादी व्यवस्था आउने जिकिर गर्दै पार्टी अन्तरगतको मध्ये पश्चिम कमाण्ड इन्चार्ज समेत रहेका नेता बुढा मगरले दलाल संसदीय व्यवस्थाको बिकल्प राजतन्त्र वा पंचायती ब्यबस्था हुने नसक्ने जिकिर गरे । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतसंग पार्टी एकता बारे चर्चा चलिरहेको कुरा औन्ल्याउंदै नेता सन्तोष बुढा मगरले आफ्नो पार्टीले संचालन गरेको एकीकृत जनक्रान्ति बारे प्रष्ट भएर आउँदा साथ् पार्टी एकीकरणमा कुनै समस्या नरहने स्पस्ट पारे । रास्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा एकजुट भै लड्न तथा दलाल संसदीय व्यवस्था नढलेसम्म दिगो रुपमा संघर्षलाई अघि बढाउन वामपन्थी, देशभक्त, रास्ट्रवादी र अग्रगामी शक्तिहरुका बीच संयुक्त मोर्चा निर्माणको प्रयास भैरहेको पनि उनले जानकारी दिए । पार्टीमा मिडियाहरुले भने जस्तो कुनै विवाद नरहेको दाबी गर्दै उनले पार्टीका नेताहरु सबै आ-आफ्नो जिम्मा लिएर कार्यक्षेत्रमा खटिईरहेको बेला पार्टीभित्र विवाद छ भनेर अफवाह फैलाउनु मिडियाको बेइमानी भएको उनको तर्क थियो । सोही अवसरमा पार्टीका केन्द्रीय सदस्यत्रय कर्णाली ब्युरो इन्चार्ज एटम, भेरी ब्युरो इन्चार्ज शितल र धवलागिरी ब्युरो इन्चार्ज विप्लव लगायतका नेताहरुले पार्टीले संचालन गरेको अभियानका क्रममा गण्डक ब्युरोमा पार्टीको बैचारिक तथा सांगठानिक अवस्थालाई सुदृढ र बलियो पारी छाड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । ने.क.पा गण्डक ब्युरो सदस्य एबम कास्की जिल्ला इन्चार्ज रुपेश्को अध्यक्षतामा भएको सो कार्यक्रम पार्टी तनहुँ जिल्ला इन्चार्ज उवारले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *