युवा नेता पदम गिरीको राजनैतिक छलाङ, केन्द्रीय सदस्यमा मनोनित

Featured गण्डकी प्रदेश राजनीति समाचार समाज

२६ मंसिर २०७८ पर्वत, हामीले राजनैनिक रूपमा नेतृत्व गर्ने व्यक्ति उमेरले बूढो हुनु पर्छ जस्तो लाग्छ तर अहिलेको परिस्थिति फरक र पृथक छ । उमेरले नेकपा एमालेको कान्छो सांसद तर राजनैतिक पृष्ठभूमि लामो भएका अब्बल युवा नेता हुन पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरी । बोलिमा नरम र व्यवहारमा सरल व्यक्तित्वका धनी युवा देखि वृद्धा सम्म अन्तरघुलित हुन सक्ने क्षमता भएका गिरी लामो समय विद्यार्थी आन्दोलन बाट खारिएका नेता मा पर्दछन ।

आफ्नो राजनैतिक जिबनलाई सधै जनताको सेवामा तल्लीन हुन रूचाउने सांसद पदम गिरी सबै पुस्तामा अन्तरघुलित भई जनताको सेवामा लाग्ने युवा पुस्ताको प्रतिनिधित्व गर्ने छबि बनाउदै आएका छन । पर्वत जिल्लाको काफलचोर मावि, दुर्लुङबाट विद्यार्थी राजनीति शुरू गरेका पदम गिरी देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा विराजमान हुन सफल भए । थुप्रै अन्तर संघर्ष पछि नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारी समालेका गिरी आठौं जिल्ला अधिकवेशनबाट नेकपा एमाले पर्वतको अध्यक्ष मा निर्वाचित भई जिल्लाको बागडोर समालेका थिए ।

सधै नयाँ पुस्तालाई नेतृत्वमा समेटिनु पर्छ भनी लागि पर्ने गिरी कहिले पनि दोश्रो पटक जिल्ला अध्यक्षको रूपमा आफुलाई प्रस्तुत गरेनन् र आफुलाई केन्द्रीय राजनिती मा प्रवेशको मनस्थिति बनाउदै आफ्नो पार्टी गतिविधिलाई अगाडि बढाउदै आए । देशमा संघियता आए सँगै २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा आफ्नो नेतृत्वमा नेकपा एमालेलाई पर्वत जिल्लामा  शानदार पहिलो पार्टी बनाउन सफल नेता गिरीले उक्त नतिजासँगै सबैको ध्यान आफु तर्फ तान्न सफल भए ।

जिल्लामा थुप्रै सिनियर नेता हुदाँ हुदै २०७४ सालमा नेकपा एमालेको राष्ट्रिय नेतृत्वले विश्वास गरि प्रतिनिधि सभा तर्फको पर्वत जिल्लाको उम्मेदवार बन्न पुगेका गिरी पर्वतमा लगातार ३ पटक संसद बनेका नेपाली कांग्रेसका नेता अर्जुन प्रसाद जोशीलाई १२ हजार भन्दा बढी मतले पराजित गरि नेकपा एमालेको विरासत पर्वतमा स्थापित गरि प्रतिनिधि सभाको सांसद बन्न पुगेका थिए ।

देश र जनताको हितलाई शिरोधार्य गरि संसदमा उच्च मनोबलका साथ प्रवेश गरेका गिरी सटिक र स्पष्ट विचार गरिमामय संसदमा प्रस्तुत गरि छोटो समयमा संसदीय प्रणालीमा अब्बल वक्ताको रूपमा आफ्नो पहिचान बनाउन सफल भए ।आफ्नो पार्टी सरकारमा हुदा होस वा नहुदा जनताको हितमा सधै आफ्नो धारणा प्रस्तुत गर्ने सांसद गिरी पार्टी नेतृत्व र विपक्षी माझ आफुलाई ध्यानाकर्षण गराउन सफल भए ।

नेकपा एमालेको पार्टी राजनितिमा समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा लागेका केपी शर्मा ओलीका विश्वाश पात्रका रुपमा चिनिएका सांसद गिरी नेकपा एमालेको चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा स्थापित हुने सबै जनताको विश्वास रहेको थियो । तर सबैको आंकलन अनुसार केन्द्रीय सदस्यमा नपर्दा सबै शुभेच्छुकहरु अच्चमित हुन पुगेका थिए । सधै आफु भन्दा पार्टी राजनितीलाई महत्त्व दिने नेता गिरी आफ्ना शुभेच्छुकलाई धेरै चिन्तित नभई केन्द्रीय नेतृत्वलाई विश्वास गर्न प्रेरित गर्दै आएका थिए  र कुनै हिसाबले आफु केन्द्रीय सदस्यमा समेटिने विश्वास राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी, एमालेको केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठक बाट पार्टीको केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा मनोनित भई केन्द्रीय राजनितिमा प्रवेश गर्न सफल पदम गिरी यसलाई महत्त्वपुर्ण उपलब्धी र अवसरकारुपमा लिएका छन । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भए सँगै उनले आफुलाई देश र जनताको सेवामा थप जिम्मेवारीरुपमा अगाडि बढन प्रेरित गरेको प्रतिक्रिया दिएका छन ।

गिरीको राजनीतिक यात्रा 

– २०४६ सालमा अनेरास्ववियू पाँचौको संगठित सदस्य
– काफल चौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटिको सचिव हुँदै प्रारम्भिक कमिटिको अध्यक्ष
– २०५० मा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववीयू पर्वत पोखरा सम्पर्क कमिटिको अध्यक्ष
– २०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटिको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनिएनको सदस्य
– २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटिको अध्यक्ष
– अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य
– अनेरास्ववियू केन्द्रिय सदस्य
– २०५९ को स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उप समिति
– २०५९ माघ १९ को साही ‘कु’ को विरुद्धमा मुलकुकमा सवै भन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गदै भएको विरोध प्रदर्शनको नेतृत्व
– २०५९ साल माघ २० गते तत्कालीन शाही सेनाको नियन्त्रणमा
– २०६२ सालको स्वतन्त्र विद्यार्थी यूनिएन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित
– अनेरास्ववीयूको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख
– नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारी
– नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित
– २०७४ सालको मंसीर २१ गते भएको आम निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित

–२०७८ साल मंसिर २६ गते नेपाल कम्युनिष्ट पार्टी, एमालेको केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठक बाट पार्टीको केन्द्रीय सदस्यमा मनोनित

Leave a Reply

Your email address will not be published. Required fields are marked *