११ औं पोखरा महोत्सब २०७८ अमरसिंहचौरमा (पौष २८ देखी माघ ९ सम्म )

Featured गण्डकी प्रदेश पर्यटन समाचार

युनाइटेड क्लब पोखराले ११ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ अघि बढेको क्लबले पुस २८ देखि माघ ९ गतेसम्म अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा महोत्सव गर्न लागेको हो ।

क्लबका अध्यक्ष तथा मुल आयोजक समिति संयोजक राजु श्रेष्ठले स्थानीय उत्पादन तथा पर्यटन प्रवद्र्धनका अलवा आर्थिक समृद्धिका लागि गरिने महोत्सवको आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि १२ सामुदायिक विद्यालयमामा छात्रवृत्ति कोष स्थापना गरेको जानकारी दिए । कोषमार्फत बालबालिकाको शिक्षाका लागि सहयोग पु¥याएको उनको भनाइ छ ।

लगातार १२ दिन चल्ने महोत्सवका लागि २ सय ४७ स्टल बुकिङ भइसकेका छन् । पर्यटन प्रवद्र्धन गर्ने स्टललाई निःशुल्क स्थान दिइनेछ । कृषि तथा हस्तकलाका स्टललाई विशेष छुटको व्यवस्था गर्नुका साथै उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सव तयारीका लागि गठन भएका ४१ उपसमिति कार्य क्षेत्रका खटिएका छन् । ‘सामाजिक क्षेत्रमा क्रियाशील क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र विपद्मा परेका समुदायलाई सहयोग गर्दै आएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुला चिडियाखानाको अवधारणाअघि बढेको छ ।’ अध्यक्ष श्रेष्ठले ग्रामीण क्षेत्रका लक्षित गरी स्वास्थ्य शिविरदेखि लागुऔषध विरुद्धमा युवा केन्द्रीत सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिए । उनले क्लबले खेलकुद प्रतियोगितासमेत गरेको बताए ।

पोखरा ३०, ३१ र ३२ को पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टरमा चिडियाखानाको लागि अहिलेसम्म क्लबले ५५ लाख ८५ हजार नगद प्रदान गरिसकेको छ । त्यहाँ पशुपन्छी उद्दार केन्द्रका लागि भवन निर्माण, खानेपानी जडान तथा बाटो निर्माणको काम अगाडी बढेको अध्यक्ष श्रेष्ठले बताए । मृगस्थली, बाघ राख्ने खोर निर्माण भएको छ ।

प्रदेशको वन निर्देशनालयको प्रत्यक्ष निगरानीमा चरा, मृग, बाँदर, हिमालय थार, भालुको इक्लोजर, वन्यजन्तुका लागि खानेपानी ट्यांकी, बिरामी वन्य जन्तु बोक्ने स्टेचरको व्यवस्थादेखि घाइते वन्यजन्तुको उपचार कक्ष निर्माण भइसकेको छ । उनले फेवातालको संरक्षण, मुस्ताङको कस्तूरी संरक्षण तथा सम्बद्र्धन र पोखरा जुलोजिकल पार्क प्रदेशको गौरवको आयोजनाको रुपमा अघि बढेको दाबी गरे । ‘चिडियाखानाका बारेमा उत्पन्न सबै समस्या हल भएका छन् ।

स्थानीय सामुदायिक वन, क्लब र डिभिजन वनको प्रतिनिधित्व हुने गरी १५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘प्रदेश सरकारले ५ वर्षका लागि २७ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ । डिभिजन वन कार्यालयले प्रक्रियाअघि बढाएको छ ।’ उनले प्रदेश सरकारले पोखरा जुलोजिकल पार्क निर्माणका लागि १ करोड ५० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जानकारी दिए ।

पोखरा महोत्सवमा रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रालि मुख्य प्रायोजक छ । महोत्सव २ लाख ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । क्लबका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले देउसी भैलो खेलेर जम्मा गरेको ४ लाख विपद् व्यवस्थापनमा खर्च गरेको जानकारी दिए । क्लबले कोषबाट कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १० को हसुलियाका हावाहुरी प्रभावितलाई १ लाख, गण्डकी प्रदेशको कोभिड १९ नियन्त्रण कोषको लागि १ लाख, पोखरा महानगरपालिकालाई १ लाख र पोखरा महानगरपालिका वडा नम्बर १० र १२ लाई ५०÷५० हजार रकम हस्तान्तरण गरेको छ ।

थापाले महोत्सवको प्रतिप्रवेश टिकटबाट १ रुपैयाँ क्लबले सेती नदी संरक्षण कार्यमा खर्च गरेको जानकारी दिए । क्लबले सेती नदीमा फोहोर फाल्न रोक्नका लागि पृथ्वीचोक तथा बुद्धचोक जोड्ने सेती नदी पुलमा सिसी क्यामेरा जडान गरेको छ ।

महोत्सवमा विभिन्न जातजातिका कला, संस्कृति तथा झाँकी प्रदर्शन गरिनेछ । स्थानीय उत्पादन तथा औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं व्यावसायिक संघ, संस्थाका सेवाबारे जानकारी दिइनेछ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुको प्रदर्शनी तथा बिक्रीदेखि महोत्सवमा पर्यटन प्रवद्र्वनका गतिविधि सञ्चालन हुने छन् । महोत्सवमा नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुतिदेखि राष्ट्रिय स्तरका कलाकारले दोहोरी गीत प्रस्तुत हुने कार्यक्रम छ ।

विभिन्न ब्यान्डको लाइभ कन्सर्ट, हांस्य व्यङ्ग्य पनि दर्शकले हेर्न पाउने छन् । महोत्सवमा चमेना गृहको व्यवस्था, बाल उद्यान, झाँकी प्रस्तुतिदेखि, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुने महासचिव थापाले बताए ।

महोत्सवमा आवश्यक सुरक्षा, शौचालय, फ्रि वाइफाइदेखि, अग्नि, चट्याङ, भूकम्प, हुरीबतास, हुलदंगा बिमाको व्यवस्था गरिएको छ । प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सदेखि पार्किङको उचित व्यवस्था मिलाएको क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पनि बोलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *