जनप्रतिनिधिकै घरमा पोखरा महानगरले चलायो डोजर

समाचार

पोखरा , २३ पुस  । पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर सोमबार भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।

महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरीत बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालसालै ढलान गरेको एक तले घरको पिलरसहित घरको संरचना भत्काएको हो ।

डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ । घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई रोक्ने भरमग्दुर प्रयास गरेकी थिइन् । उनले डोजरको बकेटमासमेत बसेर भत्काउने कार्य रोक्नका लागि प्रयास गरे पनि उनको प्रयास सफल भएन । आफूलाई मारेर लासमाथिबाट डोजर चलाउन चेतावनी दिएकी उनलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।

भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड विपरीत पनि छ । सो घरले नेपाल स्काउटको केही अंश जग्गा पनि हडपेको बताइन्छ । नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमासमेत निवेदन दिएको बुझिएको छ ।

विष्णुलाई मापदण्ड विपरीत पटक/पटक घर नबनाउन सचेत गराउँदा पनि अटेर गरी बनाएकाले घर भत्काएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले बताए ।

उनले भने, ‘मापदण्ड विपरीत घर नबनाउनुस् भनेर महानगरपालिकाले पटक/पटक सचेत गराएकै हो, चिठीसमेत लेखेर घर निर्माण कार्य रोक्न भनेकै हो, जग निर्माण गर्दादेखी सचेत गराउँदै आएको महानगरले घरमा ढलान नगर्न चेतावनीसमेत दिएपनि अटेर गरी बनाएकाले घर भत्काइएको हो ।’

तर परियारले भने महानगरपालिकाका प्रमुख जिसी र वडाध्यक्ष शंकरप्रसाद बास्तोलासँग सल्लाह गरेरै घर बनाएको दाबी गरिन् । उनले भनिन्,‘मैले पटकपटक मेयर र वडाध्यक्षलाई जानकारी गराएरै घर बनाएकी हुँ, अहिले कसको कुरा सुनेर घर भत्काएका हुन् ? मैले बुझ्न सकिन ।’ घर निर्माणमा करिब ९ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिइन् । उनले नमूना महिला समूहबाट १५ लाख रुपैयाँ ऋण लिएर घर बनाउन शुरु गरेको छिमेकी जमुना देवका कोइरालाले बताइन् ।

त्यस्तै महानगरपालिकाले सोमबारै पोखरा ५ धारापानीमा रहेको भरत लिगलको अवैध घर पनि भत्काएको छ । पर्ती जग्गामा महानगरपालिकाबाट अनुमति नलिई बनाएकाले घर भत्काएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । ३० वर्षदेखी भोगचलन गर्दै आएको दाबी गरेपनि लालपूर्जा नभएको ठाउँमा जबरजस्ती घर बनाएकाले डोजर लगाउनुपरेको उनको भनाइ छ ।

यसैगरी महानगरपालिकाले सोमबारै पोखरा ५ बुलौंदी खोला नजिक रहेको जमुना क्षेत्रीको घर पनि भत्काएको छ । लालपूर्जा भएको जग्गा हुँदाहुँदै पर्ती जग्गा हडपेर घर बनाएकाले डोजर लगाएर भत्काएको वडाध्यक्ष नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *