आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलका लागि मोटरसाईकलहरु हस्तान्तरण

Featured गण्डकी प्रदेश समाचार

साउन १ गते, पाेखरा

गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई मातहतका प्रहरी इकाईहरुका लागि मोटरसाईकलहरु हस्तान्तरण गरेको छ ।
यही श्रावण ०१ गते गण्डकी प्रदेश प्रहरी कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेलाई मोटरसाईकलहरुको चाबी हस्तान्तरण गर्नु भएको हो ।
प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप चुष्त दुरुष्त बनाउनुका साथै समाजमा प्रहरी सक्रियता बढाई जतिसक्दो चाडो जनगुनासाहरुलाई सम्बोधन गर्न एवं कानून विपरीतका गतिविधिहरुलाई न्युनीकरण गर्न प्रदेश भरी नै वितरण हुने गरी प्रदेश प्रहरी कार्यालयलाई ३५ थान मोटरसाईकल हस्तान्तरण गरिएको हो ।
मोटरसाईकल हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले सवारी साधनको अभावका बाबजुत पनि उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल प्रहरीलाई अब समयानुकुल परिष्कृत गर्दै लैजानुको विकल्प नरहेको बताउनु भएको छ ।
साथै गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुको स्तरवृद्धि एवं उक्त प्रहरी इकाईहरुलाई स्रोत साधनहरुमा आत्मनिर्भर बनाउन गण्डकी प्रदेश सरकार तत्पर रहेको बताउदै मोटरसाईकल हस्तान्तरण पश्चात भने प्रहरी सेवा प्रवाहमा थप सहजता आउने कुरामा आफु विश्वस्त रहेको समेत बताउनु भयो ।
त्यस्तै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हरी बहादुर चुमानले विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाईकल हस्तान्तरण गरिएको स्पष्ट पार्नु भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले न्यून मात्रमा रहेका स्रोत साधनहरुको भरपुर सदुपयोग गर्दै समाजमा परिचालित नेपाल प्रहरीलाई समयको परिवर्तनसंगै अव अत्याधुनिक स्रोत साधन सम्पन्न बनाउनु पर्ने कुरामा जोडदिनु भएको छ ।
साथै हस्तान्तरण भएका मोटरसाईकलहरुलाई समेत अत्यावश्यक रहेको स्थानमा वितरण गर्नुका साथै समग्र प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई चुष्त दुरुष्त बनाउन गण्डकी प्रदेश प्रहरी कटिवद्ध रहेको बताउनु भएको छ ।
उक्त कार्यक्रममा प्रदेश सरकार अन्तर्गतका अन्य माननीय मन्त्रीज्युहरु, प्रमुख सचिव लगायत मन्त्रालय अन्तर्गतका सचिवहरु, प्रमुख जिल्ला अधिकारी साथै कास्की जिल्ला स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि साथै सञ्चारकर्मी लगायत अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *