हावाहुरीबाट २९ जनाको मृत्यु

Featured विशेष समाचार समाज

वीरगञ्ज, १८ चैत : असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन, ११ वर्षीया समसिदा खातुन, ५५ वर्षीया मीना खातुन, २५ वर्षीया विशिया खातुन र ५० वर्षीय तैयर खातुन रहेका छन । अन्यको सनाखत हसन नसकेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विद्युत्को खम्बा ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरी कलैया, वीरगञ्जलगायत अस्पताल भर्ना गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै उहाँहरुले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

यसैगरी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

हावाहुरीबाट पर्साको हरवलियामा वहिदा देवीको मृत्यु भएको छ भने हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको ना६ख ९३६० नंको बसमा बिजुलीको खम्बा खस्दा वीरगञ्ज महानगरपालिका–१२ का १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो । हावाहुरीबाट ग्रामीण क्षेत्रमा अत्यधिक क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी छ ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा भएको धनजनको क्षतिबारे जानकारी लिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीले सो ठाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । असिनाले बालीनालीमा क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बसेका छन् ।

 

-RSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *