प्रधानमन्त्री ओलीले मानेनन् मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्न

Featured राजनीति विशेष समाचार समाज

१८ जेठ, पोखरा,   शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात ।

 

पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए ।

यद्यपि, प्रधानमन्त्री ओलीको उपस्थितिमा उद्घाटन गर्ने भनिएको होटलले महानगरले तोके अनुसारको मापदण्ड पुरा गरेको छैन ।

प्रधानमन्त्रीले नै मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको थियो ।

प्रधानमन्त्री ओलीसँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सांसदहरु पनि होटल पुगेका थिए ।

प्रधानमन्त्री आउनुअघि नै होटलमा उद्घाटनको रौनक थियो । खानाको आइटम पनि तयार भइसकेको थियो । प्रधानमन्त्री आएको केही छिनमै उद्घाटन गर्ने आयोजकले जानकारी गराउँदै आएको थियो ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने भनेर तयार पारिएको शिलालेख रातो कपडाले छोपेर राखिएको थियो । तर, केहीबेरमै प्रधानमन्त्री स्काउटको ड्रेस लगाएर निस्किए ।

महानगरले तोकेको मापदण्ड विपरित उक्त होटल ९ तलाको छ । साढे दुई तला बेसीको नक्सा पास गराएर होटलको भवन बनेको हो ।

यद्यपी उक्त होटलका सञ्चालक भरत पहारी नै महानगरले गठन गरेको समितिका संयोजक समेत हुन् । पोखरा ६ लेकसाइडका वडाध्यक्ष जगत पहारीले उक्त होटल मापदण्ड विपरित बनेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री ओलीले उद्घाटन गर्न नमानेपछि उपस्थित अतिथि त्यसै फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *