काठमाडौँका संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निस्संक्रामक गरिँदै

विशेष स्वास्थ्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ ।

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो । संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि काठमाडौँ महानगरपालिकाको भनाई छ । ‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’ गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी दिनुभयो । ‘मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’

उहाँले निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिनुभयो । ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *