दिन फिर्‍यो नमस्कारको !

Featured विशेष समाचार समाज स्वास्थ्य

मानिस आफू हिँडिरहेको बाटोबाट कहिले पछाडि फर्कन्छ ? जब गन्तव्यमा पुग्न उसले हिँडेकोभन्दा कम जोखिमको बाटो फेला पार्छ । फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह ।

 

रोकिनु त जड प्रवृत्ति भयो । अझै अघि बढेर इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले अबदेखि हात मिलाउनुको साटो नमस्कार गर्न आग्रह गरे । नमस्कार गर्दै गरेको उनको तस्बिरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्राथमिकतासाथ सम्प्रेषण गरे । पश्चिमाको सांस्कृतिक साम्राज्य र त्यसले पारेको प्रभावस्वरूप हामीले केही दशकयता नमस्कार गर्न भुलिसकेका थियौं । पश्चिमका जुनसुकै परम्परालाई वैज्ञानिक मान्ने र त्यसलाई अनुसरण गर्ने दुनियाँमा अभिवादनको नमस्कार शैलीमाथि बहस हुन थालेको छ ।

संसारका महाशक्ति, जोसँग पैसा छ, जोसँग शक्ति छ, उनीहरूले अपनाएका चलन वैज्ञानिक नभए पनि सभ्य हुन्छन्, उनीहरूको खानेकुरा मीठो नभए पनि त्यही खानुपर्छ नत्र हामी पाखे हुन्छौं भन्ने जबर्जस्त धारणा छ । हाम्रो समाज आफ्नो सभ्यताले विकसित गरेका शब्दहरू उचित भए पनि, ध्वनि प्रकृतिसँग मिल्ने भए पनि तिनलाई विस्थापित गर्नुपर्छ र ती विभेदकारी छन् भन्ने मान्यताको सिकार हुँदै आएको छ । नमस्कार छोड, हात मिलाऊ । मान्यजनलाई साष्टांग दण्डवत् गर्न छोड, गला मिलाऊ । गुरु र गुरुआमा नभन, सर र मिस भन । दिदीबहिनी–दाजुभाइ भन्नु असभ्यता हो, ब्रो र सिस भनेर सभ्य होऊ । दालभात भन्नै हुँदैन, ब्रेकफास्ट, लन्च र डिनरलाई भान्सा संस्कृति बनाऊ । सभ्यता र विकासको मानक हामीले यसैलाई बनाउँदै आयौं ।

समाजको ‘विकासमा लागेका’ राजनीतिकर्मीदेखि समाजसेवामा छौं भन्ने सरकारी जागिरे, एनजीओकर्मीहरूलाई भेट हुँदा पनि नमस्कार गरेको देख्न कठिन छ । नमस्कारको ठाउँ अँगालो हाल्ने र ‘चुम्माचाटी’ ले लिएको छ । नमस्कार गुरु, नमस्कार गुरुआमा भनेको सुन्न मन पराउँदैनन् अहिलेका शिक्षकहरू । तिनलाई गुड मर्निङ सर/मिस भन्नुपर्छ । पश्चिमा संस्कृतिले छोप्दै आएको हाम्रो नमस्कार संस्कृतिलाई धन्न कोरोनाको महामारीले सम्झाइदिएको छ !

नमस्कार मन, आवाज र मुद्राले गर्न सकिन्छ । आवाजमा निस्कने नमस्कार संस्कृत शब्द हो । नमस्–कृ–घञ भएर नमस्कार शब्द बन्छ । नमः को अर्थ म नमन गर्छु या म झुक्छु या मेरो अहंकार झुक्यो भन्ने हुन्छ (बृहद् संस्कृत–नेपाली शब्दकोश, पं. फणीन्द्रप्रसाद पाण्डेय, पृ. ७१३) । ममा भएको उज्यालो तिमीमा भएको उज्यालोसँग मिल्छ, तिमी र ममा भेद छैन भन्ने गहिरो कामना नै नमस्कार हो भन्नुहुन्छ तन्त्रविद् विद्यानाथ उपाध्याय भट्ट । उहाँका अनुसार, नमस्कारको भावार्थ हो सम्मान गर्नु । हाम्रा पाँच औंलालाई पञ्चतत्त्व पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अर्थ्याइएको छ । यी औंला एकसाथ हुँदा तिनै पाँच ऊर्जाको प्राप्ति हुन्छ । देखिने भौतिक कुराबाट नभई खासमा त्यो ऊर्जाकै कारण मान्छे जिउने हुनाले ऋषिमुनिहरूले नमस्कार उत्कृष्ट ठहर्‍याएर संस्कृतिका रूपमा ल्याएको उहाँको तर्क छ ।

देवता, गुरु, ब्राह्मण, साथी र मान्यजनलाई नमस्कार शरीर, मन र वचन तीन प्रकारले गरिन्छ (शब्दकल्पद्रुम, पृ. ८२७–२८) । धर्ममा मात्र हैन, योग विज्ञान तथा आयुर्वेदमा पनि हत्केलामा रहेका नसाहरू दिमागकेन्द्रित हुन्छन् भन्ने उल्लेख पाइन्छ ।

शरीरहरूबीचको सम्बन्धभन्दा भावनात्मक रूपले एकाकार खोज्ने परिपाटीबाटै हाम्रा संस्कारहरू बन्दै आएका हुन् । दुवैको आभामण्डलमा व्याप्त भावनात्मक र अदृश्य तत्त्वलाई एकताबद्ध गराउने प्रक्रियाबाट अभिवादनको नमस्कार शैली विकास भएको हो । आफ्नो भावनात्मक तरंग र त्यसको प्रकाश अरूमा पठाएर गरिने नमस्कार अभिवादनको प्राचीन शैलीमध्येको एक हो ।

नमस्कारको प्रयोगबारे वेदमा पनि उल्लेख छ । रुद्रिका मन्त्रहरूमा ‘नमः शङ्कराय,’ ‘नमः शम्भवाय’ भनिएको छ । देवताको पुकार गरिएका पुराना ग्रन्थहरूमा यसरी नमस्कारको प्रयोग गरिएको छ भने स्मृतिहरूमा अभिवादन गर्ने गरिएको बताइएको छ । शुक्लयजुर्वेद (१६/१) मा भनिएको छ— ‘नमस्ते रुद्र मन्यव उतो त इषवे नमः । बाहुभ्यामुत तर नमः ।’ अर्थात्, हे रुद्र, तपाईंलाई तपाईंका क्रोधलाई तपाईंका वाणलाई र तपाईंका बाहुलाई नमस्कार छ । महाभारत र कालिकापुराणमा पनि सबैलाई नमस्कार गरेर मात्र या योगस्थ भएर मात्र किताब पढ भनिएको छ ।

कामना त जसरी पनि गरिन्छ, तर नमस्कार यस्तो नियन्त्रित कामना हो जसले कर्तालाई पहिला विचारशून्य बनाउँछ । विचार नभएपछि विचारले ल्याउने नकारात्मकता शून्य हुन्छ र आफूमा सकारात्मक भाव उत्पन्न गराएर शरीरको सम्पूर्ण शक्ति एकै ठाउँमा केन्द्रित बनाउँछ । अनि दिमाग र दिल जोडेर सामुन्नेको मान्छेको सम्मानका लागि आफ्नो आत्मालाई पुकार्छ ।

अष्टाङ्ग योग विधि अनुसार, यदि तपाईं साधना गरिरहनुभएको छ भने दुई हात साथमा ल्याउँदा त्यहाँ एक खालको ऊर्जा निस्किन्छ । आफूलाई र आफूले सम्मान गर्ने व्यक्ति अगाडि हुँदा दुवै हत्केला र औंला सँगै जोडेर, कुम र शिरलाई त्रिकोण अवस्थामा राखी, शरीरको सबै शक्ति केन्द्रित भएको अवस्थामा त्यो ऊर्जा प्राप्त हुन्छ । दुवै हातको हरेक औंला उही औंलासँग मिलाई हावा पनि छिर्न नसक्ने गरी जोडिन्छ र बूढी औंलाको जोडीलाई फरक पारिन्छ । अनि जोडिएको हात छातीको बीच भागमा मुटुको धड्कन महसुस गर्ने गरी राखिन्छ, जसको आकार शिरसँग पनि त्रिकोणकै हुन्छ ।

नमस्कारका बेला अघिल्तिरको मान्छेसामु झुक्दा औंलाले आँखीभौंको बीच भागमा छुन्छ अनि नमस्कार गर्नेका आँखा दुई सेकेन्डका लागि बन्द हुन्छन् । आँखा बन्द हुँदा मानिसको सम्पूर्ण ऊर्जा भित्र केन्द्रित हुन्छ र बाहिरी संसारसँग उसको सम्बन्ध एकै छिनका लागि टुट्छ । अर्थात्, ऊभित्रका लोभपाप जस्ता स्वार्थी आकांक्षाहरू एकै छिनका लागि भए पनि हराउँछन् । अन्य विचार पनि बन्द भएको, सबै शक्ति केन्द्रित भएको अवस्थामा गरिएको पुकारमा उत्पन्न सात्त्विक ऊर्जा सामुन्नेको मानिसमा सजिलै प्रवेश गर्न सक्छ भन्ने मान्यता योग तन्त्र शास्त्रमा पाइन्छ ।

नमस्कार गरेर झुक्नु आफैंमा सम्मान हो र त्यसबाट तपाईं मभन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईंको अधीनस्थ हुँ भन्ने भाव व्यक्त भइरहेको हुन्छ । मेडिकल विज्ञानले पनि भनेको छ— हाम्रा हातमा धेरैतिरका नसाहरू आएर अन्त्य हुन्छन्, जसले गर्दा हत्केलाका खासखास नसाहरूबाट शरीरको पूरै पद्धतिलाई नियन्त्रण गर्न सकिन्छ ।

कामना या आन्तरिक ऊर्जाले मान्छेको शक्तिमा फरक ल्याउन सक्छ भनी सबै धर्म र सभ्यताले मानेका छन् । गला मिलाउन चिनेको मान्छे हुनुपर्ला, हात मिलाउन पनि सफा मान्छे खोज्नुपर्ला अनि मृत्यु भइसकेकाहरूसँग हात मिलाउन वा गला मिलाउन सकिँदैन । तर, नमस्कार सबैलाई सबै अवस्थामा गर्न सकिन्छ । नमस्कार अभिवादन मात्र नभएर वसुधैव कुटुम्बकंको परिपूरक रूप हो, जसले वसुधा (पृथ्वी) मा बसोबास गर्ने सबै मेरा मित्र हुन् भन्ने भाव जागृत गर्छ । एकचित्त भएर गरिएको नमस्कारले नदेखिने तर प्रत्यक्ष प्रभाव पर्ने दुई व्यक्तिबीच सूक्ष्म स्पन्दन प्रवाह गरेको हुन्छ । त्यही सात्त्विक स्पन्दनले मान्छेमा नकरात्मकता हराउँछ र उसमा सम्यक् भाव उत्पन्न हुन्छ ।

लामो अभ्यास र अध्ययनपछि निर्मित संस्कृतिबाट आएको नमस्कारलाई हामीले बाह्य प्रभावमा परेर त्यागिदियौं । पराईको प्रभावमा परेर त्यागिएको हाम्रो वैज्ञानिक अभिवादन संस्कृतिलाई पुनःस्थापित गर्ने अवसर अहिले कोरोना भाइरसको आतंकले जुराइदिएको छ । नमस्कारलाई पुनः अनुसरण गरौं ।
source: ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *