शिकारीको गोली लागेर चितुवाको मृत्यु

Featured विशेष समाचार

डोटी, ५ माघ (रासस) : डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ ।

चितुवा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझाएको थियो । डिभिजन वन कार्यालयमा चितुवाको शवपरीक्षण गर्दा चितुवाको शरीरमा दुई गोली लागेको उल्लेख गरिएको छ ।

पन्ध्र महीना जतिको भाले चितुवा भएको डिभिजन वन कार्यालय डोटीका रेञ्जर सुरेश रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गोलीकै कारण चितुवा मरेको शवपरीक्षण रिपोर्टले पुष्टि गर्छ ।” चोरी शिकारी गर्ने व्यक्तिहरुले चितुवा मारेको हुन सक्ने भएको भन्दै डिभिजन वन कार्यालय डोटीले थप अनुसन्धान प्रक्रिया शुरु गरिरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, पशु एकाई कार्यालयको रोहवरमा डिभिजन वन कार्यालयल डोटीको कार्यालय परिसरमा नै चितुवा गाडिएको रेञ्जर रोकायाले जानकारी दिनुभयो । मरेको चितुवा बिहीबार डिभिजन वन कार्यालय डोटीलाई बुझाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *