मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

Featured राजनीति विशेष समाचार

मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उनको विचारलाई छाड्न नमिल्ने स्पष्ट गरे ।

‘मदन भण्डारीले अगाडि सारेको विचारले धारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ’, उनले भने, ‘मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता रु यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।’

भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनको भनाइ थियो । अध्यक्ष ओलील भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गरे । ‘मदनको विचारलाई सूत्रका रुपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन ।

समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ’, उनले भने । अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारले नै अन्त्यन्तै प्रतिकूल अवस्थामा कम्युनिष्ट आन्दोलनको रक्षा गरेको तथा कम्युनिष्टमाथिको सम्पूर्ण आलोचनालाई निस्तेज पारेको बताए ।

उनले बिहीबार मात्र जनवर्गीय सङ्गठनको एकता गरिएको छ भन्दै पार्टी एकतालाई फराकिलो ढङ्गले लैजानुपर्नेमा जोड दिए। ‘यतिबेला चित्त सानो पारेर होइन, मन दुखाउने होइन । फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्छ’, उनले भने । उनले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउने थालिएको समेत स्पष्ट गरे ।

उनले एकताका बाँकी काम(विभिन्न निकाय, विभागको कार्यविभाजन) केही दिनभित्र पूरा हुने समेत बताए । अध्यक्ष ओलीले महान् आन्दोलनमा लागेकाले नेकपाका लागि परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पराजित प्रतिक्रियावादीले यथास्थितिलाई भत्काउन खोजेको समेत बताए। उनले भने, ‘पराजित प्रक्रियावादीले सहजै पराजय स्वीकार गर्दैनन् । जनताको आन्दोलन र सफलता देख्न रुचाउँदैनन् । त्यसकारण उनीहरु यथास्थितिलाई भत्काउन खोज्दैछन् ।’ उनले अनेक निराशा फैलाउने कोशिश भइरहेको छ भन्दै त्यस्ता निराशा कम्युनिष्टले राख्नु नपर्ने र निराश हुने अवस्थामा आउन नदिइने पनि बताए ।

प्रधानमन्त्री ओलीले सफलतापूर्वक सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको छ भन्दै कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने बताए । उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र लोककल्याणकारी राज्यका पक्षमा तथा तल्लो तहलाई कसरी माथि उठाउन सकिन्छ र रोजगारीको अवसर कसरी गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गदै पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र पर्यटनको विकास गरेर नेपाली अर्थतन्क्रलाई सबल र विकसित बनाइने दृढता व्यत्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *