हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

प्रवास विशेष समाचार सूचना-प्रविधि

बेइजिङ, २४ मङ्सिर 

चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ ।

चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ ।

मेङले क्यानाडाको भ्यानकुभरस्थित अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । उहाँले क्यानाडाली जेलबाट जमानतमा रिहा हुन पाउनुपर्ने जिकिर गर्नुभएको छ । हुवावेले अमेरिकी आग्रह र प्रतिबन्ध विपरीत इरानसँग आर्थिक कारोबार गरेको अमेरिकी आरोप छ ।

डिसेम्बर १ मा भ्यानकुभरमा पक्राउ परेकी मेङलाई क्यानाडाको एक अस्पतालमा उच्च रक्तचापको उपचार गरिएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले मेङलाई क्यानाडेली अधिकारीहरुले पर्याप्त स्वास्थ्य उपचारको सुविधा उपलब्ध नगराएको बताएको छ ।

“हाम्रो विचारमा यो अमानवीय कार्य हो र उपचार गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको उल्लङ्घन हो,” चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

(रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *