शेयर लगानीकर्ताको जायज माग सम्बोधन हुन्छ : नेता गुरुङ

आज को बिचार विशेष समाचार

काठमाडौँ, २७ मङ्सिर 

शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले ऐक्यबद्धता जनाउनुभएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका नेता गुरुङले लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । शेयर लगानीकर्ता विगत पाँच दिनदेखि नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि धर्नामा छन् ।

उहाँले भन्नुभयो, “कहाँकहाँ कसरी सुधार गर्नुपर्छ भन्ने विषयमा हाम्रोतर्फबाट पहल हुन्छ । बजारको सुधार र विस्तारका लागि आवश्यक पहल हुन्छ ।” उहाँले शेयर लगानीकर्ताले शान्तिपूर्णरुपमा आफ्ना माग राखेको र बजार सुधारको आवाज उठाएको भन्दै यसभन्दा अगाडि बढेर अन्य विरोधका कार्यक्रम भने जरुरी नरहन सक्ने उल्लेख गर्नुभयो ।

उहाँले समस्याको सम्बोधनका लागि संवाद र सहमति नै उत्तम विकल्प भएको भन्दै त्यसबाट नै निकास खोज्न आग्रह गर्नुभयो । उहाँले लगानीकर्ताको मागलाई सरकारले उचितरुपमा सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । बजार सुधारको माग राख्दै शेयर लगानीकर्ता विगत पाँच दिनदेखि स्टक परिसरमा धर्नामा छन् । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *