शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् ।

Featured लुम्बिनी प्रदेश समाचार

लुम्बिनी, १९ मङ्सिर 

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा सहभागी स्वदेश र विदेशका चित्रकार जलरङ्गमा लुम्बिनीका चित्र कोर्न लुम्बिनीमा भेला भएका हुन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको महोत्सवअन्तर्गत उनीहरुले आज लुम्बिनीको दृश्य चित्रमा उतार्दैछन् ।

आज यहाँ वृहत् चित्रकला कार्यशालासमेत आयोजना गरिएको समाजका महासचिव दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो । “एक पटक लुम्बिनी घुमेर कलाकारले दृश्य कैद गर्छन्, त्यसपछि स्थलगत चित्रकला कार्यशालामा हुनेछ”, महासचिव बनेपालीले भन्नुभयो । साँझ विदेशी कलाकारलाई यहाँको संस्कृतिको बारेमा जानकारी दिई सांस्कृतिक कार्यक्रमसमेत गरिने र विहीबार प्रतियोगितात्मक चित्रकला कार्यशाला हुने उहाँले जानकारी दिनुभयो ।

लुम्बिनीका दृश्य चित्रमा उन्न यहाँ नेपाली चित्रकारसहित सात देशका ४० चित्रकारको सहभागिता छ । लुम्बिनीमासमाजका विश्व अध्यक्ष क्यानडाका अतानुर डोगान, भारतका देशीय प्रमुख अमित कपुर, बङ्गलादेशका देशीय प्रमुख कौशर हुसेन, मङ्गोलियाका मुक्खु गुगु, अमेरिकाकी मिनी भेलेरो, न्यूजिल्याण्डका जिनेट वाङ र चीनका जाओ सिनसहित २० कलाकार सहभागी छन् । यस्तै २० भन्दा बढी नेपाली चित्रकार लुम्बिनी आइपुगेका छन् ।

यही मङसिर १७ गते काठमाडौँको नेपाल कला परिषद्मा उद्घाटन गरिएको जलरङ्ग महोत्सवमा चित्रकार स्थलगत रूपमै चित्रकला कार्यशालामा सहभागी भएका थिए । परिषद्मा ३८ देशका २७० चित्रकला प्रदर्शन जारी छ । समाजका उपाध्यक्ष लालकाजी लामा विदेशी र नेपाली कलाकार चित्रकलामा सामूहिक सहभागी हुँदा पर्यटन प्रवद्र्धनसँगै संस्कृति आदानप्रदान हुने हुँदा सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

यही मङसिर २३ गतेसम्म चल्ने महोत्सवअन्तर्गत विश्वका कलाकारलाई नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र घुमाएर चित्रकलामा सहभागी गराइने छ । कलाकारले नेपालका दृश्य कैद गर्नेछन् र विदेशमा गएर पनि नेपालका चित्र बनाउने हँुदा यसले भ्रमण वर्ष २०२० सफल बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको समाज नेपालका सचिव केशवराज खनालले जानकारी दिनुभयो ।

आज र विहीबार लुम्बिनीमा कार्यक्रम हुने र त्यसपछि काठमाडौँमा फर्किएर विभिन्न सम्पदा सूचीमा परेका क्षेत्रको भ्रमण गरी कलाकार चित्रकला कार्यशालामा सहभागी हुने आयोजकले जनाएको छ । काठमाडाँैमा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रहरु, पाटनको दरबार स्क्वायर, स्वयम्भू, पशुपतिनाथलगायत ठाउँमा विदेशी चित्रकारलाई भ्रमण गराइने कार्यक्रम छ ।

उनीहरु नेपालमै पनि स्थलगत चित्रकला कार्यशालामा सहभागी हुनेछन् भने क्यामरामा कैद भएका दृश्य स्वदेश फर्किएर चित्रमा उतार्ने छन् । यसले नेपालको पहिचान विश्वमा पु¥याउन ठूलो सहयोग पुग्ने विश्वास रहेको समाजका नेपाल अध्यक्ष एनवी गुरुङले बताउनुभयो ।

दुई वर्षअघि कास्कीको घान्द्रुकमा सहभागी भएका थाइल्याण्डका चित्रकार डिरेकले अहिले पनि नेपालका चित्रहरु कोरिरहेको स्मरण गर्दै समाजका महासचिव बनेपालीले अहिले सहभागी विदेशी चित्रकारहरुले दुई वर्षसम्मै नेपालको चित्र बनाउने हुँदा नेपालको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुहुन्छ ।

समाजका सदस्य डि बराल विश्वका कलाकारको चित्र नेपालमा प्रदर्शनी हुनु र विदेशी कलाकारले स्थलगत रूपमै नेपालमा दृश्य बनाउनु आफैँमा महत्वपूर्ण कुरा भएको बताउनुहुन्छ । विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलोमा आउन पाउँदा विदेशी कलाकार खुशी छन् । यसले नेपालसँगको सामिप्यता अझै बढाउने विदेशी कलाकारको प्रतिक्रिया छ ।

सन् २०१२ मा स्थापना भएको अन्तर्राष्ट्रिय जलरङ्ग समाजमा ९० देश सहभागी छन् । नेपालमा सन् २०१४ मा समाज स्थापना भएको थियो । सन् २०१६ मा कास्कीको घान्द्रुकमा पहिलोपटक अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सव आयोजना भएको थियो

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *