चितुवा निगरानी गर्न क्यामरा ट्रयापिङ

गण्डकी प्रदेश तस्बिर समाचार

दमौली, १९ मङ्सिर 

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा ट्रयापिङ जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्यामरा ट्रयापिङबाट चितुवाको गतिविधि पत्ता लगाउन सकिन्छ । “यो प्रविधिबाट चितुवा कता गइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ”, उहाँले भन्नुभयो । नगरपालिकाको ढल्केवर, पाउदुरे खोला, तिलानकोटे जङ्गल र रिठ्ठाबोटे गाउँमा क्यामरा ट्रयापिङ जडान गरिएको छ ।

यसैबीच नरभक्षी चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षकलगायतलाई परिचालन गरिरहेको छ । प्रहरीलाई स्थानीयबासीले समेत साथ दिएका छन् । नगरपालिका–२ का वडाध्यक्ष अर्जुन केसीले वडाभित्रका प्रत्येक घरधुरीका एक÷एक जना चितुवालाई नियन्त्रणमा लिनका लागि घरेलु हतियारसहित खटिएको जानकारी दिनुभयो ।

चितुवा नियन्त्रणको लागि खोर बनाई प्रत्येक साँझ बाख्रासहितको पासो थापिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक वन उपभोक्ता समूहबाट वन क्षेत्रको झाडी सफा गर्ने, साँझ बिहानको समयमा प्रहरी गस्ती गर्ने र स्थानीय एफएम रेडियोबाट सुरक्षा उपायको जानकारीमूलक सूचना प्रशारण गर्ने काम भइरहेको छ ।

चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौँ समेतको परीक्षणको लागि पठाउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिनुभयो । चितुवा नियन्त्रणमा नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायको परिचालन निरन्तर भइरहने समेत उहाँले जानकारी दिनुभयो ।

विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही

नेपाल विद्युत्् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत्् चोरी गर्ने २५ जनालाई कारवाही गरेको छ । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको विभिन्न स्थानमा गरिएको अनुगमनबाट अनधिकृतरूपमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही गरिएको हो ।

केन्द्रका प्रमुख शिव गोशलीले घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले अनधिकृतरूपमा विद्युत् चोरी गरेको पाइएकाले उनीहरूलाई नियमअनुसार कारवाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये एमसिवी बाइपास गरी प्रयोग गर्ने १८, डाइरेक्ट हुकिङ गर्ने एक र मिटर बाइपास गर्ने पाँच जना रहेका छन् ।

विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा ११ अनुसार निजहरुलाई कारवाही गर्दा रु ७९ हजार ४२१ राजश्व असुली भएको गोशलीले बताउनुभयो ।

यसैबीच वितरण केन्द्रले बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु १४ लाखभन्दा बढी बक्यौता असुल गरेको छ । मङ्सिर महीनामा मात्रै त्यस ठाउँका ११८ ग्राहकको लाइन काटेर रु १४ लाख ६५ हजार ९४५ असुल भएको केन्द्रले जनाएको छ । बन्दीपुर र भानु क्षेत्रमा मात्रै अझै पनि रु ५० लाख बक्यौता रहेको केन्द्रले जनाएको छ । (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *