मत्स्य न्याय – भाग १
✍ महेन्द्र पाैडेल
“हरि हरि, क्यार्न बिहे गर्नू ? टुहुरा दुई भाईहरू नै सन्तानसरह छन्”, साथीहरू ले बिहे गर्न उक्साउँदा हरिबोल को जवाफ हुन्थ्यो “ईनैलाई हुर्काउँछू, ईनैले पाल्छन् “। प्राय हरि हरि जपिरहने, बोल्दा वाक्य मा हरि हरि जोडिरहने र मन मा पटक्कै पाप नलिने हरिबोल को नाम र व्यवहार ठिक्क मिले झैं लाग्थ्यो । समय रफ्तार मा बित्दै गयो । हरिबोल अविवाहित नै बसे । दुखम् सुखम् सानोतिनो काम गरेर भाईहरू लाई हुर्काउने, पढाउने र बिहेबारीसम्म पार लगाए । भएको पैतृक सम्पत्ति एक रुन्को नचलाई जोगाए । भाईहरू को बिहेबारीपछि छुट्टिने प्रसंग चल्यो । दाजू को बिहे नभएको र सानोतिनो जागीर पनि भएकाले एउटा वाससम्म भए त पुग्यो नि भन्दै भएको सम्पत्ति लाई दाजू को एक भाग र भाईहरू को दुई दुई भाग को अनुपात मा बाँडफाँड को टुङ्गो लगाइयो । छुट्टिभिन्न भएपछि हरिबोल नियाँस्रिन थाले । तै उनको जागीर थियो र दिन भुलाउने बाटो बनेको थियो । तर पोलेमाथि फुकुण्डो भने झैं, तेही जागीर पनि व्यवसाय मा मन्दी आएको भन्दै साहू ले उनलाई सदा का लागि काम बाट बिदा दियो ।
भाईहरू सँग भेटघाट हुनै दुर्लभ भैसकेको थियो । परिवार, बालबच्चा र घर-काम गर्दैमा उनीहरू लाई फुर्सद हुन्थेन; दाजू लाई कसरी समय दिउन् ? काम नभएपछि भएका थोरै साथीहरू पनि टाढिन थाले । न आँफूलाई हेर्ने कोही भए न आँफूले हेर्ने कोही। हरिबोल लाई आँफू हुर्के बढेको टोल-छिमेक नै बिरानो लाग्न थाल्यो ।
आम्दानी को कुनै श्रोत पनि नरहेकाले बिस्तारै खान बस्न पनि उनलाई धाैधाै पर्न थाल्यो । तब उनले त्यो ठाउँ छोडेर कतै दूरदराजतिर जाने सोच बनाए ।
नयाँ ठाउँ खोज्दै जाँदा उनको मन सुदूर पश्चिम को एउटा सानो गाउँ मा अड्किन पुग्यो । ठूलो ताल छेउ अवस्थित त्यो गाउँ साँच्चै नै स्वच्छ, सुन्दर र मनमोहक थियो । थोरै भए पनि शहरतिर को घरखेत बेचेर अएकाले त्यो ठाउँ मा एउटा सानो कुटी लिएर बस्दा उनीसँग केही सम्पत्ति बचत पनि हुने भयो ।
नयाँ ठाउँ को त्यो बसाइ मा हरिबोल लाई सबैभन्दा मन परेको तेहाँ को ताल नै थियो । उनी दिनहुँ ताल किनार मा पुग्थे । तेहाँ का माछाहरू लाई केही अन्न को चारा छर्थे । आज भोलि गर्दै निरन्तर चारा दिन थालेपछि माछाहरू अन्त चर्न छोडी हरिबोल कै प्रतीक्षा मा रहन थाले र उनी आउने बित्तिकै उनकै छेउ झुम्मिने भए ।
एवं रित ले केही वर्षहरू बित्दा ताल का माछाहरू पूर्णरूप मा हरिबोल मा अश्रित हुन पुगे । हरिबोल लाई त्यो कुरा ले आनन्दित तुल्याइरहेको पनि थियो । तर एक दिन हरिबोल को ध्यान फोहोर बन्दै गएको ताल को पानी मा पऱ्यो । उनमा काैतूहलता जाग्यो – किन एस्तो स्वच्छ ठाउँ को पानी फोहोर हुन लागेको होला ? कतै मैले माछा लाई चारा हाल्दा एस्तो भएको त हैन? माछाहरू ले ताल मा मिसिन गएका चीजवस्तुहरू नखाइदिएकाले त होइन? तब उनलाई केही समय माछाहरू लाई चारा नदिई हेर्न मन लाग्यो ।
उनी जब जब ताल छेउ पुग्थे, माछा का बथान हुर्रिएर उनीछेउ अइपुग्थे तर हरिबोल चारा फ्याँक्दैनथे । माछाहरू भोक ले आकुल व्याकुल हुँदा पनि हरिबोल कै बाटो हेर्थे तर आँफै चारा खोज्न कतै जादैनथे ।
एक दिन हरिबोल तालकिनार मा पानी खेलाउन निहुरिए । हात डुबाउन पाउँदा नपाउँदै सदा झैं ठूलो समूह मा माछा को बथान उनीछेउ आयो । सधैं चारा हाल्ने हरिबोल का हात रित्तै हुन सक्लान् भनेर सोच्न शायद ती लोभी माछाहरू मा ज्ञान थिएन र चारा छोपे झैं गरी बथान का दुई ठूला माछाहरू ले उनका दुई हात च्याप्प समाए र ताने । हरिबोल सम्हालिन सकेनन् र पानी मै लडे । तेसै बखत साना माछाहरू पनि छपक्क ढाकिएर उनको जीउभरि मुख ठोस्न थाले । हरिबोल छटपटाउँदै पानी बाट बाहिरिन खोजे । तर ती भोका ठूला माछाहरू ले उनको हात का औंलाहरू मात्र हैन पुरै डुँडुलो टोकेर छिनाई सकेका थिए । उनले चाल्न सकेनन् ।
अचानक हरिबोल का दृश्य मा उनका दुई भाईहरू आइपुगे र उनका एक एक हात बडो प्रेम समाएर उनलाई डोऱ्याउँदै एउटा नाैलो र अवर्णनीय उज्यालोतिर लगे । भाईहरू कै साना छोरा छोरीहरू उनको जीउ मा झुण्डिएर जताततै गुदगुदी लगाउँदै खेले । उनको दु:खपीडा कुनै जादूगर ले छुमन्तर गरेर उडाए झैं भयो । उनी आनन्दातिरेक ले उज्यालिए । उनका अनुहार मा हल्का मुस्कान छायो, आँखा लोलाउँदै गए र उनी सदा का लागि निदाए ।