पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक

Featured शिक्षा

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक
रेडियोअन्नपूर्ण÷पोखरा, ३० चैत ।
सिमसार, वातावरण, कृषि तथा जैविक विविधता क्षेत्रका जानकार र विज्ञहरुले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि मानिसले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । रेडियो अन्नपूर्णले संचालन गरेको द राउण्ड टेबलको ७ औं श्रृंखलामा आज बोल्दै उनीहरुले यस्तो बताएका हुन ।
वातावरण अनुकुलन नभएका अनियन्त्रित विकास निर्माणका कामहरु, आगलागि, धूँवा धूलो, पुराना गाडीबाट निस्किरहेको प्रदुषित धुँवाले वायुमण्डल प्रदुषित भएको बताउँदै यसको न्यूनिकरणका लागि प्रत्येक मानिस, सरोकाारवाला निकाय जिम्मेवार बन्न जरुरी भएको बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.महेश्वर ढकालले जल तथा वायुमा भईरहेको परिवर्तनको कारण प्रकृतिमा रहेका हरेक प्राणिको जीवनमा संकट उत्पन्न भईरहेको बताए । अहिले वायुमण्डल धूलोका कणहरुले ढाकिएको छ, यहि समयमा वर्षा पनि हुन सकेको छैन । ढकालले भने, धुँवा, धूलोको कारण भिजिविलिटि पनि कम भएकोले आन्तरिक तथा अन्तराष्ट्रिय उडानहरु हुन नसक्दा देशलाई आर्थिक रुपले पनि नोक्सानी भईरहेको छ ।
जलवायुमा आएको परिवर्तन यो हामी सबैको साझा समस्या भएकोले यसको न्यूनिकरणको लागि सिमसार क्षेत्र, जल, जमिन र जंगललाई जोगाउनु पर्नेमा सचिव ढकालको जोड थियो ।
कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारीले वातावरणमा हुने परिवर्तनको असर खेतीपातीमा प्रत्यक्ष पर्ने गरेको बताए । वायुमा धूलोका कणहरु मिसिएको छ । वर्षा भएको छैन । वालिनालीमा अनेक प्रकारका रोगहरु निम्तिने र उत्पादनमा ह्रास आउने भएकोले खाद्य संकट उत्पन्न हुने खतरा रहेको बताए । अधिकारीले धुँवा धूलोको कारण बोट विरुवामा परागसेचन हुन कठिनाई हुने र पानी अभावको कारण खाना पनि बनाउन नसक्ने भएकोले उत्पादन हुन कठिनाई हुने बताए ।
लिवर्डका वरिष्ठ कार्यक्रम अधिकृत निरञ्जन पुडासैनीले रैथाले जातका वालिहरु लोप हुँदै गईरहेका र आयातीत बीउविजनको उपल्धता र परनिर्भरताको कारण भविष्यमा खाद्य सुरक्षामाथि नकारात्मक असर र खतरा रहेको बताए । हामीले पारम्परिक खेती प्रणालीलाई छोडेर आयातीत बिउविजनको प्रयोग गरिरहेका छौं, यदी प्राविधिक कारणले सिमापारबाट बिउविजन आएन भने खाद्य संकट निम्तिने र त्यो मानविय जीवनका लागि निकै कष्टकर हुने बताए । पुडासैनीले स्थानिय प्रजातिका वालिनालीको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *