कौशीखेती अभिमुखीकरण तथा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भयो ।

गण्डकी प्रदेश समाचार

 

पोखरा, ९ पुस ।

पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती अभिमुखीकरण तथा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले कौशी खेती तर्फ नागढुङ्गाबासीको रुचि अन्य वडाका लागि उदाहरण भएको धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्ता सृजनात्मक काममा नागढुङ्गाबासी अग्रस्थानमा रहेको र टोलबासीका हरेक काममा वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि विकास शाखाका प्राविधिक मनोहर कडरियाले कौशी खेती सम्बन्धी श्रव्यदृश्य तालिम प्रदान गर्नुभएको थियो भने थोपा सिंचाई कार्यक्रमका प्रबन्ध निर्देशक खोजराज कटुवालले थोपा सिंचाई र कम्पोष्ट विनको प्रयोगबारे प्रत्यक्ष प्रदर्शन गर्नुभएको थियो ।

कार्यक्रममा नर्सरी विज्ञ होम बहादुर हमालले वेर्ना सार्ने प्रकृयाका बारेमा प्रकाश पार्नुभएको थियो भने वडा कृषि सञ्जालकी अध्यक्ष सरस्वती थापा लगायतले बोलेका थिए ।।

कार्यक्रममा सहुलियत दरमा ६० जना उपभोक्तालाई कम्पोष्ट विन वितरण गरिएको थियो ।

समाजका अध्यक्ष डम्मर राज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अपिला ढकाल बरालले गर्नुभएको थियो ।

कार्यक्रम पछि स्थानीयहरु निकै उत्साहित हुँदै नागढुङ्गालाई फोहोर र प्लाष्टिकमा तरकारी बोक्ने बाध्यताबाट मुक्त क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *