समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

Featured समाचार

काठमाडौं, १५ चैत ।

दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो ।

दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र सुनारले जानकारी दिए । ‘सबैभन्दा बढि विभेद भोग्ने र उपेक्षामा पारिएका भनेकै कर्णालीका दलितहरु हुन् । र, संख्याको हिसाबले पनि कर्णालीमा देशकै सबैभन्दा धेरै दलितहरुको जनसंख्याको बसोबास रहेको छ ।’ कर्णालीबाटै अभियान शुरु गर्नुको तात्पर्य बुझाउँदै सुनारले भने, ‘त्यसैले पनि कर्णालीमै हामी पहिलो चरणमा केन्द्रित भएका हौँ । र, कर्णालीमा यो अभियान शुरु भएसँगै समुदायस्तरबाट धेरै ठाऊँमा हामीलाई बोलावट आएको छ । यसलाई हामीले देशव्यापी बनाउँछौँ ।’

दलित समुदायलाई सामाजिक र राजनीतिक रुपमै नेतृत्वमा ल्याउन आवश्यक रहेकोले जनस्तरमै त्यसको चेत जगाउन अभियान गर्नुपरेको सुनारले प्रस्ट्याए । ‘सामाजिक रुपमा अझै पनि दलितमाथि विभेद छ । जातकै कारण हाम्रा दाजुभाई, बाहरु मारिएका छन् । छोरी चेली र आमाहरु बलात्कृत भैरहेकै छन् ।’ अभियन्ता सुनारले भने, ‘त्यस्तै राजनीतिक रुपमा पनि हाम्रो समुदायले यो व्यवस्थाको लागि जुन बलिदानी दिएको थियो, त्यसको कदर भएको छैन । पछिल्लो पटक भएको प्रत्येक सरकारको हेराफेरीमा एकजना दलित मन्त्रीमण्डलमा छनौटमा पर्न सकिरहेका छैनन् ।’ अभियन्ता सुनारले आफ्नो लागि आफै र दलितका लागि दलित नै लाग्नुपर्ने कुराको सचेतना समुदायस्तरमा फैलाउने अभियानको उद्देश्य रहेको सुनाए ।

कर्णाली प्रदेशको सुर्खेतबाट समुदाय जागरण अभियान शुरु भएको हो । सुर्खेतमा भएको जागरण अभियानमा समुदायस्तरबाट बाक्लो जनउपस्थिती रहेको थियो । सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय साँच्चै ठुलो समस्यामा रहेको तथ्य सुनाए । दलित समुदायले आफ्नो अधिकार प्राप्तिका लागि ठुलो लडाँई लड्न आवश्यक रहेको उनले बताए । त्यसो त आफू दलित आयोगमा रहेर समुदायमाथिको विभेदविरुद्ध आवाज उठाउँदा पनि राज्यले वास्ता नगर्ने गरेको उनले गुनासो गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले कर्णाली प्रदेशमा सबैभन्दा बढि जनसंख्या दलित समुदायको रहिरहँदा पनि राज्यले समुदायलाई सँधै उपेक्षा गरिरहेको बताए । ‘राज्यले न समुदायको पक्षमा केही बोल्छ, न त नीतिगत रुपमै गर्नुपर्ने केही काम गर्छ ।’ उनले भने, ‘सबैभन्दा ठुलो संख्यामा दलित रहेको र उनीहरु नै सबैभन्दा विभेद सहेर बाँच्नुपरेको तथ्यलाई राज्यले सँधै उपेक्षा गरिरहेको छ । आफूले प्रदेशसभामार्फत दलितहरुको पक्षमा आवाज उठाईरहेको भएपनि सडकबाट दलित आन्दोलनमार्फत पनि राज्यलाई दबाब दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा लोकदोहोरी गायक राजु परियारले पनि विशेष प्रस्तुती दिएका थिए । उनले गीतमार्फत नै अब कसैलाई पनि सुनपानीले छर्कन नपर्ने खालको समाज निर्माण हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले जनप्रतिनीधिको रुपमा पनि आफूले जातीय विभेद सहनुपरिरहेको किस्सा सुनाएका थिए । साथै उनले जनस्तरमा आफूले समुदायको लागि काम गर्न खोज्दा पनि राजनीतिक रुपमा पेलान्मा पारिएको बताएका थिए ।

अभियान अन्तरगत आन्दोलनका संयोजक खगेन्द्र सुनार आफ्नो समूहसहित यतिबेला कर्णालीका विभिन्न स्थानहरुमा पुगिरहेका छन् । दलित समुदायको अवस्थासँगै उनीहरुको सामाजिक र राजनीतिक चिन्तनको बारेमा सुनार सहितको टोलीले मिहिन ढंगले अध्ययन पनि गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *