हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

Featured समाचार समाज

इनरुवा, २६ पुस (रासस) : सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

मोहम्मद सकिम हुसेनलाई घर नजिकै हिँडिरहेका अवस्थामा पक्राउ गरिएको थियो र जाविर हुसेनलाई कोशी गाउँपालिका–८ भण्टाबारीबाट र लक्ष्मीनारायण मन्दिरका पुजारी यादवलाई घरबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

त्यसैगरी हत्या गरेकोमध्ये एक जना मुसरी भने दुहबी नगरपालिका– ९ का २२ वर्षीय जफर मियाँलाई बाँकै प्रहरीको सहयोगमा पक्राउ गरी सुनसरी ल्याई रहेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेकाको बयानका आधारमा फिदाको हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, सोमा लाग्ने गोली दुई थान र डाइगर (चक्कु) एक थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि दुहबी नगरपालिका–१२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नरिवलको बोट नजिक गाडेर राखेको अवस्थामा हतियार बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । हत्यामा संलग्न पक्राउपश्चात् बयानका क्रममा हत्या सुनियोजित र रिसइवीका साथै आर्थिक लेनदेनका कारण भएको खुलेको सुनसरीका प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । हत्यामा अन्यको समेत संलग्नताको आशङ्कामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीमा चार दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । हुसेनलाई मङ्सिर ५ गते बिहान प्रात भ्रमणका क्रममा जयबाबा इँटा उद्योग नजिकैको नहरको डिलमा गोली हानी हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *