विश्वविजेता महर्जनलाई सम्मान

Featured खेलकुद समाचार

काठमाडौँ, १७ पुस (रासस) ः राष्ट्रको गौरव बढाएकोमा १० औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पियनसिपका विश्वविजेता महेश्वर महर्जनलाई आज यहाँ सम्मान गरिएको छ ।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीको १०औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

सो अवसरमा मन्त्री विश्वकर्माले खेलकूद क्षेत्रबाट गरेको परिश्रमले अन्तर्राष्ट्रिय तहमा मुलुकको प्रतिष्ठा बढेको उल्लेख गर्दै सातै प्रदेशमा अन्तर्राष्ट्रिय पूर्वाधारसहितको खेल मैदान निर्माण गरिने नीति सरकारको रहेको बताउनुभयो ।

मुलुकमा तल्लो तहदेखि नै खेलकूदको विकास गर्न सरकारले प्राथमिकता दिएको र ७५३ स्थानीय तहमा समेत यस क्षेत्रमा लगानी वृद्धि गरिने बताउँदै उहाँले खेलाडीलाई व्यवसायिक बनाउन सकेमा उनीहरु यसमा आकर्षित हुने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्न सकेमा यस क्षेत्रमा राम्रा जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले यस क्षेत्रको व्यवस्थित विकासका लागि खेलकूद विश्वविद्यालय स्थापना गर्न माग गर्दै खेललाई देशको आर्थिक समृद्धिसँग जोडनुपर्ने बताउनुभयो ।

एकेडेमीले फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन, मार्सल आर्टस्लगायत क्षेत्रको विकासमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *