लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

Featured पर्यटन समाचार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ। दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका कान्तिपुर अनलाइनले लेखेको छ।
राष्ट्राध्यक्ष सीले यहाँ आउनुअघि लेखेको लेखमा लुम्बिनीको प्रसंग जोड्नु भएको थियो। लुम्बिनीमा आफ्नो मुलुकले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको उल्लेख गर्नु भएको छ।
पाँच वर्षयता यहाँ चिनियाँ पर्यटक बढेका छैनन्। ‘अघिल्लो वर्ष नेपालमा नरेन्द्र मोदी आउँदा लुम्बिनीमा भारतीय पर्यटक बढेका थिए,’ लुम्बिनी होटल संघका महासचिव लीलामणि पौडेलले भन्नुभयो, ‘राष्ट्राध्यक्ष सीको भ्रमण र प्रतिबद्धतापछि चिनियाँ पर्यटक बढ्ने कुरामा ढुक्क छौं।’
चिनियाँ सञ्चार माध्यमले राष्ट्राध्यक्ष सीको भ्रमणका क्रममा नेपाली आतिथ्यबारे सकारात्मक सन्देश प्रवाह गरेको पौडेलले बताउनुभयो। ‘करोडौं खर्च गरेर चिनियाँ सञ्चार माध्यममा विज्ञापन दिनुपर्थ्यो। राष्ट्राध्यक्षको भ्रमणले खर्च पनि जोगियो,’ उहाँले भन्नुभयो, ‘आतिथ्य मन पराउने चिनियाँ पक्कै लोभिएका छन्।’
सन् २०१४ मा २० हजार ७ सय चिनियाँ पर्यटक लुम्बिनी आएका थिए। त्यसपछि संख्या ओरालो लागेको छ। २०१५ मा १२ हजार १ सय र २०१६ मा १६ हजार ३ सय पर्यटक लुम्बिनी आए। २०१७ मा १५ हजार ७ सय र २०१८ मा १८ हजार ४ सय पर्यटक आए। २०१९ को नौ महिनामा १३ हजार ७ सय ९५ चिनियाँ पर्यटक आएका छन्।
भारतसँग सहज आउजाउ छ। प्रभाव तत्काल देखिन्छ। राष्ट्राध्यक्ष सीको भ्रमण र प्रतिबद्धताले प्रभाव पार्न केही समय लाग्ने व्यवसायीले बताए। ‘राष्ट्राध्यक्षको भ्रमणले अवश्य प्रभाव पार्छ,’ होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो, ‘केही समय कुर्नुपर्छ। कनेक्टिभिटी बढाउनुपर्छ। स्थल मार्ग सहज छैन। हवाई भाडा महँगो छ। त्यसैले चिनियाँ पाहुना बढाउन स्थल मार्ग सहज र धेरै चीनका सहरसँग नेपाली वायुसेवाले सिधा हवाई सम्पर्क बढाउनुपर्छ।’
समूहमा हिँड्ने चिनियाँ पर्यटकले धेरै खर्च गर्छन्। अधिकांशले प्याकेजमा यात्रा गर्छन्। सन् २०१८ मा १५ करोडभन्दा बढी चिनियाँ विदेश घुम्न निस्केका थिए।
चीनले आफ्ना नागरिकलाई विदेश घुम्नका लागि प्रोत्साहित गर्छ। चीनको एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडीएस) मा नेपाल पनि पर्छ। चीनले सन् २००२ देखि नेपाललाई एडीएसमा राखेको थियो। एडीएस नपाएको मुलुकमा घुम्न जान चिनियाँ नागरिक हिच्किचाउँछन्। ‘राष्ट्राध्यक्ष घुमेको मुलुक भनेर चीनका पर्यटकले नेपाललाई बुझ्छन्,’ लुम्बिनी विकास कोषका निमित्त उपाध्यक्ष सुरेन्द्रमुनि शाक्यले भने, ‘त्यो अवसरलाई हामीले उपयोग गर्नुपर्छ।’

source :

CRI Nepali Service

Leave a Reply

Your email address will not be published. Required fields are marked *