पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’

Featured समाचार

१७ पुस, काठमाडौं 

श्री कृष्ण धिमाल

नेपाल रत्न तथा आभूषण सङ्घले नेपाली गरगहनालाई विश्वबजारमा प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्ने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने सङ्घका अध्यक्ष जोत्स्ना श्रेष्ठले बताइन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष श्रेष्ठले रत्न तथा आभूषण व्यवसायीहरुबीच ऐक्यबद्धता स्थापित गराई व्यवसाय सञ्चालनका साथै रोजगारीका अवसर सिर्जना र राजश्व योगदानमा सङ्घले सघाइरहेको जानकारी दिइन् । उनले बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि पनि नेपाली गहना निकासी गर्नुपर्ने भन्दै यसका लागि नीतिगत सहजीकरणको आवश्यकता औंल्याइन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले नेपालमै बहुमूल्य रत्न तथा पत्थर पाइने भए पनि उचित नीतिका अभावले उत्खनन् र संरक्षण गर्न नसकिएको बताए । उनले मेलामार्फत यस्ता बहुमूल्य रत्नको संरक्षणका लागि सबै तहका सरकारलाई झकझाउन सहयोगी हुने धारणा राखे । राजधानीको ताहाचलस्थित सोल्टी होटलमा हुने मेलामा देशका ४० वटा कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गर्ने जनाइएको छ । मेलामा १० हजारभन्दा बढीले त्यसको अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *