दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

विशेष समाचार

गाईघाट, ६ मङसिर :

उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ ।

नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान नै शुरु गरिएको छ । दिनको समयमा सुगाचरी भीरमा बस्ने गिद्धहरू पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न सोही क्षेत्रमा आउने गरेको मैनामैनीका ७० वर्षीय गर्जमान राई बताउनुहुन्छ ।

मैनामैनी प्राथमिक विद्यालयका शिक्षक मणिकुमार राईले सो क्षेत्रमा पुस्ताँैदेखि गिद्ध बस्दै आएको र यसलाई अझै संरक्षरणको अभाव रहेकाले अहिले आफूहरूसहित नगरपालिकाले संरक्षणको अभियान शुरु गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका गिद्ध संरक्षण गर्न अहिले नगरपालिकाले नयाँ योजना ल्याएर संरक्षण अभियान अगाडि बढाएको नगरप्रमुख दुर्गाकुमार थापा बताउनुहुन्छ । गिद्ध संरक्षण गर्न अहिले बेलका क्षेत्रका मरेका घरपालुवा जनावरलाई गिद्ध बसोबास गर्ने क्षेत्रमा राखिदिने कार्य नगरपालिकाले शुरु गरेको प्रमुख थापाले बताउनुभयो ।

उहाँका अनुसार महीनामा दुई पटक गिद्धका लागि अन्य आहारा राख्ने गरिएको छ । “अहिले सुगाचरी भीरक्षेत्रका आसपास क्षेत्रमा सिमलका रूख नगरपालिकाले गिद्ध संरक्षणका लागि रोप्ने र हुर्काउने अभियान थालेको छ”, उहाँले भन्नुभयो । गिद्धले सिमलका रूखमा बस्न मन पराउने हुनाले यसको संरक्षणका लागि सिमलको बिरुवा रोपेर हुर्काउन लागिएको पनि नगरपालिकाले बताएको छ ।

यस्तै गिद्धका प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञहरूसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले बताएको छ । यस क्षेत्रमा पाइने गिद्ध बेलकाको मात्र नभएर १ नं प्रदेशको नै सुन्दर गहना भएका कारण आफूहरू यसको संरक्षणमा लागेको नगरपालिकाका प्रतिनिधिहरू बताउँछन् । दुर्लभ पक्षी गिद्धको संरक्षण गर्न सके लोप हुँदै गएको गिद्ध प्रजातिको संरक्षणमा टेवा पुग्ने तथा गिद्ध हेर्न र अध्ययन गर्न आउने पर्यटकको पनि आगमनमा वृद्धि हुने भएकाले यो अभियान शुरु गरिएको नगरपालिकाले बताएको छ ।

बेलकास्थित मैनामैनीको सुगाचरी भीर करीब पाँच हजार एक सय फिटसम्मको उचाइमा रहेको र गिद्धका लागि पूर्वीक्षेत्रकै उपयुक्त बासस्थान रहँदै आएको कारण पनि यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाउनुपर्ने आवश्यकता रहेको बेलकावासी बताउँछन् ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *