कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

Featured कर्मचारी बागमती प्रदेश विशेष समाचार समाज

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? देश लाई स्थायित्व दिने निजामती प्रशासन विगतको समायोजनको कारणले, संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन बन्न नसकेको कारणले आफै अस्थिर देखिएको छ। आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा भएको छ, श्रावण भाद्र सरुवा गर्ने महिना पनि भएकोले सबै निकायहरु सरुवामा पनि केन्द्रीत छन, यिनै सेरोफेरोमा रहेर नेपाल निजामती कर्मचारी संगठनको वरिष्ठ उपाध्यक्ष एंव आधिकारीक ट्रेड यूनियनका केन्द्रीय सदस्य लेखनाथ कोइरालासंग गरिएको कुराकानिको सार संक्षेप प्रस्तुत गरिएको छ ।

१.कोरोना भाइरस(COVID-19)को महामारी बढदो छ, धेरै कर्मचारीहरु संक्रमित भईसकेका छन, नागरिकहरु हजारौ संक्रमित छन, मृत्यू हुनेको संख्या पनि बढिरहेको छ, ट्रेड युनियनको भूमिका के छ ?

राष्ट्रसेवक कर्मचारीहरु विशेषतः चिकित्सक, स्वास्थ्यकर्मी लगायत सबै जना आफ्नो क्षेत्रमा ज्यानको बाजि लगाएर खटिरहेका छन्। देशमा महामारी मात्र होईन राजनितिक संकट, प्राकृतिक प्रकोप लगायतको काममा पनि राष्ट्रसेवक कर्मचारी उत्तिकै कृयाशिल रहदै आएका छन। करिव छ सयको संख्यामा राष्ट्रसेवक संक्रमित भएर पनि जनताको उपचारमा कत्ति पनि कमि आउन दिएका छैनन। अस्पताल लगायतमा काम गर्नेहरु डिउटी समयमा मात्र होइन चौविसै घण्टा रातदिन नभनि जनसेवामा तल्लीन छन । आफ्नै सहकर्मीको कोरोना भाइरस (COVID-19)को कारण ले मृत्यु हुदा पनि कोही विचलित भएका छैनन ।

स्वास्थ्यकर्मीहरुको लागि सरकारले विमाको व्यवस्था गरेको छ, यो स्वागत योग्य कुरा हो ।जोखिम भत्ता दिने कुरा कार्यान्वयन हुन सकेको छैन ।काममा संलग्न हुनेहरुलाई उर्जा, उत्साह र प्रोत्साहनको लागि तत्कालै जोखिम भत्ता निकासा हुन अनिवार्य छ।राज्यसंग भएको सीमित स्वास्थ्य जनशक्ति लाई सुरक्षित बनाउदै कोरोना भाइरस (COVID-19) नियन्त्रण गर्ने अन्तिम चरण सम्म पुर्याउन जरुरी छ । महामारी भयावह हुदै गएको छ, अस्पतालहरु विरामीले भरिएका छन, बिरामीहरु अस्पतालमा छटपटाइ रहेको ह्दयविदारक दृष्य कहालिलाग्दो छ ।त्यसैले सरकारी, प्राइभेट अस्पताल लगायत लाई सुविधा सम्पन्न बनाउने तर्फ सरकारको  पहिलो प्राथमिकता रहनु पर्दछ । सेवा वाहिर रहेका स्वास्थ्य जनशक्तीलाई सरकारले तत्कालै काममा जुटन आव्हान गर्नुपर्दछ । साथै कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्ने माग पनि सरकार समक्ष रहेको छ ।

निजामती कर्मचारी संगठनका विभिन्न कार्य समितिहरुले कोरोना भाइरस (COVID-19) नियन्त्रण तथा उपचार कोषमा सकेको सहयोग पनि गरेका छन। केन्द्रले ५ पाच लाख, अर्थ शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका विभागीय कार्य समितिले क्षमता अनुसार र जिल्ला कार्य समिति कास्की, काठमाडौं, सिन्धुली, लगायतले समेत सहयोग गरेका छन अर्थात महामारी बिरुद्ध नेपाल निजामती कर्मचारी संगठन निरन्तर लागिरहेको छ ।

२. सरकारले आधिकारीक ट्रेड यूनियनको निर्वाचन २०७७ साल असोज २४ गते घोषणा गरेको छ, चुनाव हुन्छ चार वर्षको कार्यकालमा तपाईहरु कमजोर हुनुभएको छ, पहिलो हुने सम्भावना छ ?

तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु गराउनु प्रमुख निर्वाचन अधिकृत, सम्बन्धित निकाय र ट्रेड यूनियनको कर्तव्य हो । कोरोना भाइरस (COVID-19)को कारण वाहेक कुनै पनि वहानामा निर्वाचन टार्ने काममा कोही लागेकोछ भने सम्बन्धित निकाय वा संस्थावाट उ दण्डित हुन्छ। कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड यूनियनलाई संस्थागत, स्थायी र सबैको बिश्वास योग्य संस्था बनाउन हामी सबै लाग्नुपर्छ ।राज्य व्यवस्था तथा शुसासन समितिले राष्ट्रिय स्तरका ट्रेड यूनियन खारेजी गर्ने निर्णय गर्दा सरकारले तिनै ट्रेड यूनियन विच चुनाव गर्ने घोषणा गरेको छ अर्थात ट्रेड यूनियनहरु लाई जोगाउन पनि चुनावको विकल्प छैन।

स-साना विवाद त मुद्दाहरुमा हुन्छन् नै । २०७३ जेष्ठ १९ को चुनावमा पनि हाम्रै संगठन भित्र केहि व्यक्तिहरु चुनावको पक्षमा लाग्नु भएन, प्रचार प्रसार अभियानमा सघाउनुभएन तर अन्त्यमा भोट संगठनमै हाल्नुभयो । अहिले पनि संक्रमित भएको तर लक्षण भने नदेखिएको कोभिडको विरामि जस्तो केहि गतिविधिले संकेत गर्न थालेकोछ।समयमै ट्रेसिङ गर्ने र निदानको उपाय खोज्नुपर्दछ। जतिसुकै रोग लुकाए पनि अन्त्यमा देखिइहाल्छ ।अर्थात पहिलो हुने लाइ समायमै चुनाव चाहिन्छ, न्यून भोट ल्याउने, पराजित हुने पक्का भएका लाई टार्ने वहाना चाहिन्छ ।

हामी स्थापनाकाल २०४७ देखि नै सर्वश्रेष्ठ हौं। २०७३को निर्वाचनमा पहिलो मात्र होइन ११७ स्थान मध्ये ८० कार्य समिति र केन्द्रमा पूर्ण बहुमतको साथ विजयी पनि भएका हौं ।त्यसैले सहकर्मी ट्रेड यूनियनहरुलाई एकताबद्ध वनाएर निर्वाचनको अभ्यासमा जान प्रेरित गर्नु हाम्रो कर्तब्य पनि हो ।यो चुनावमा वास्तवमा कोहि हार्दैन, समानुपातिक प्रणाली भएकाले धेरथोर प्रतिनिधित्व हुन्छनै । तोकिएको १० प्रतिशत थ्रेसहोल्ड प्राप्त नहुदा मात्र ट्रेड युनियनको बैधता सकिन्छ, प्रतिनिधित्व नै हुदैन ।

हामीले चार वर्ष आधिकारिकलाई संस्थागत गर्ने काम तत्कालिन अध्यक्ष पुण्य प्रसाद ढकालको नेतृत्वमा गर्यौ ।सम्बन्ध समितिको बैठकको प्रारम्भ गर्यौ, जसको अध्यक्षता संघीय मन्त्रीले गर्नुहुन्छ ।मन्त्रालयको सचिव र प्रमुख जिल्ला अधिकारी मार्फत कार्यालयहरु स्थापना गर्न निर्देशन गरायौं, हरेक बर्ष सरकारले बजेट निकासा गर्ने व्यवस्था मिलायौं, तीन वटा राष्ट्रिय भेला सम्पन्न गराई कर्मचारीहरुको माग र गुनासा सूत्रवद्ध गर्यौं, राष्ट्रिय कार्यशाला गोष्ठीहरु भए, समायोजनमा सकस हुदाँ विसौं हजार प्राविधिक साथिहरुलाई एक तह बढुवाहुने सूनिश्चितता गराई नेपालमा CBA को निर्वाचन भएको महत्वपूर्ण सन्देश संसारभरी पुर्यायौं । यसपटक प्रारम्भिक र आधारभूत कामहरु सम्पन्न गरिए, अबको चार बर्ष निजामती क्षेत्रको निति निर्माण गर्ने काममा हामी खर्चिनेछौं ।त्यसैले अबको यो चुनाव हामी निर्वाध जित्छौं ।तर पहिलेको भन्दा कति बढी भोट ल्याउन सकिन्छ भन्नेमा संगठनको सिंङ्गो टिम केन्द्रित छ ।

३. अहिले सम्म मतदाताको हुने टुङ्गो छैन, निर्वाचन कार्यालयहरुमा बजेट गएको छैन, निर्वाचनको माहौल खोइ ?

अहिलेको निर्वाचन निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५० बमोजिम हुने हो। सो अन्तर्गतका प्रावधानहरु लाई टेकेर काम गर्दा असजिलो कतै हुन्न। बरालिन थाल्दा मात्र समस्या निम्तिन्छ ।समायोजन भएर स्थानीय तथा प्रदेश तहमा गएका निजामती साथिहरु नै मतदाता हुन् ।सहमति गरेर नयाँ भर्ना भएका ९६६१ जना पनि मतदाता हुदाँ अझै बेस हुन्छ ।प्रदेशका मन्त्रालय र निकायमा रहेका साथीहरु सम्बन्धित जिल्लाको मतदाता हुन्छन । काजमा रहेका साथीहरु सोही कार्यालय बाटै भोट हाल्छन-विगतको व्यवस्था यहीं हो । जहासम्म बजेटको बिषय छ यथाशिघ्र अर्थ मन्त्रालयले बजेट निकासा पठाएर चुनावको वातावरण तयार गर्न सहयोग गर्नुपर्छ ।बजेट बिना प्रमुख निर्वाचन अधिकृतले कसरी काम गर्न सक्नुहुन्छ ? सरकारले  गरेको निर्वाचनको घोषणा लाई सरकारी निकायले सहयोग पुर्याउनु पर्दछ ।श्रम विभाग, श्रम मन्त्रालय, संघीय मन्त्रालय / कानून मन्त्रालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय बिच राम्रो समन्वयको आवश्यक छ। समस्या देखिय सुल्झाउने तर्फ लाग्नुपर्छ, बल्झाउने तर्फ होइन।सबैको भूमिका मतदाताले नजिकबाट नियालिरहेका छन ।

४. तपाइहरु संघीय ऐन, कार्मचारीहरुका सेवा सुविधाका वारेमा आन्दोलन गर्दै हुनुहुन्थ्यो कहाँ पुग्यो आन्दोलन ? समायोजन भएर स्थानीय तह र प्रदेशमा गएका कर्मचारीहरुको बारेमा संगठनले ध्यान नदिएको गुनासो छ, किन होला ?

संघीय निजामति सेवा ऐन दुइ वर्ष सम्म पनि जारी गर्न नसक्नु सरकारी निकायहरुको निकम्मापन हो ।यसले देश लाई ठुलो नोक्सानी  पुर्याएको छ ।प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन यसैका कारणले बन्न सकेन । यसले कर्मचारीतन्त्र परिचालन र विकास निर्माणका काममा पनि त्यतिकै असर पुर्याएको छ । समस्याको जड भनेको कर्मचारीको लागि बन्ने ऐन, नियम उनिहरुको ट्रेडयुनियन संग छलफल र समन्वय नगर्दा उत्पन्न भएका हुन्। मूलतः ऐन निर्माणको जिम्मेवारी र अधिकार पाएको राजनितिक नेतृत्व र प्रशासनिक नेतृत्वका इच्छाशक्तिको शुन्यपनले यो समस्या विकराल बन्दै गएको छ ।राज्य व्यवस्था तथा शुसासन समिति ट्रेड यूनियनको खारेजि, सेवा सुविधा कटौंती, स्थायी प्रशासनलाई करारमा परिणत गर्ने तर्फ उद्दत छ ।त्यसैले हामी कर्मचारीका सामूहिक हित र जनसेवासंग जोडिएका कामहरुलाई पारदर्शी तरिकाले कानूनमा लेख्न चाहन्छौ ।सरुवा स्वचालित, र चक्रिय र पूर्वअनुमान योग्य बनाउँ भन्दा केको आनाकानी ? समायोजनमा गएका कर्मचारीहरुको ˝निजामती पहिचान˝ समाप्त गर्न दिदैनौ । समायोजन भएकालाई सबै तह (संघ, प्रदेश, स्थानीय) मा सरुवा हुने व्यवस्था खोल्न चाहन्छौं ।खाईपाई आएको सेवा सुविधा सुरक्षित गर्न चाहन्छौं ।ट्रेड यूनियन अधिकार  कटौती होइन व्यवस्थित र मजवुत वनाउन चाहन्छौ ।यी विषयहरु हामीले सरकार संग राखिसकेका छौं ।ती बिषयहरु समावेस गरेर मात्र ऐन ल्याउन हाम्रो संगठनको माग रहेको छ ।अरु ट्रेड युनियनहरुले पनि सहमति जनाएका छन् ।यीनै बिषयमा केन्द्रीत रहेर आधिकारिक ट्रेड यूनियनको नेतृत्वमा आन्दोलन जागरण अभियान सञ्चालन गर्यौं । सबै जिल्ला / विभाग / केन्द्रीय कार्य समितिबाट प्रधानमन्त्रीज्यू लाई ज्ञापन पत्र बुझायौं । पर्चा वितरण गर्यौं, अन्तरकृया र वहस गर्यौं ।माग पत्र लाई वृहत वनाउदै सबै सेवा समूहको हितमा हुने गरि तयारी गर्ने निर्णय भएको छ। पछिल्ला केही दिन देखि कार्यालयहरु बन्द भएका छन। बन्दको कारण बाट केही गतिविधि गर्न पाईएको छैन । अब केन्द्रीय कमिटीको बैठक बसेर बाकी निर्णय गरिनेछ। तपाईले सोध्नु भएको कुरा ठिक हो, स्थानीय तह र प्रदेशमा समायोजन भएका साथीहरु र नयाँ भर्ना भएकाहरुको गुनासो संगठनसंग रहेकोछ। हाम्रा आधार भनेकै त्यही कार्यरत सदस्यहरु हुन ।यहाँ समायोजन भएर कमजोर भइयो कि भन्ने हिनताबोध नगर्नको लागि म अनुरोध पनि गर्न चाहन्छु । सम्बन्धित ऐन निर्माण गर्दा राष्ट्रसेवक कर्मचारीको हितमा हुनेगरि संगठन केन्द्रले पहल गर्ने कुरा पनि साथिहरुलाई राख्न चाहन्छु। सबै कर्मचारीका माग गुनासा लाई दृष्टिगत गर्दै संगठनले आफनो काम लाई व्यवस्थित गर्नेछ ।

५. श्रावण, भाद्र महिनामा कर्मचारी सरुवा गर्ने प्रावधान छ, तपाईहरु लाई सत्ता निकटका भनेर चिनिन्छ, साथिहरुको काम कत्तिको गदैछ संगठनले ?

निजामती सेवा लाई केहि हदसम्म बदनाम गर्ने काम आज सम्म सरुवाले गर्दै आएको छ।कानून बमोजिम सरुवा गर्ने चलन नै छैन, अहिले पनि तजबिजी चलिरहेको छ।तजबिजीका बिरुद्धमा कहिलेकाही बोल्नुपर्ने हुन्छ, त्यसैलाई ट्रेडयूनियनहरुले हस्तक्षेप गरे भनेर स्याल हुइँया चलाईन्छ ।बिवाद नहुनेगरि, अन्याय नहुने गरी सरुवा गरौं न कसले  बिरोध गर्छ ? बिरामी कर्मचारी छ, आशोच बारेको छ, शारीरिक हिसावले फरक क्षमताको छ त्यो कुरा हामी लाई थाहा हुन्छ, निर्णयकर्तालाई हुदैन अनि यसले  गलत निर्णय गर्नपुग्छ। किन यसो गरेको भनेर भन्यौ भने दवाव दियो भन्छन । कुनै भूगोलमा बसेको कर्मचारी घरपायक जान चाहन्छ, बिसौ बर्ष अघि बसाइसरिसकेको हुन्छ निर्णय गर्नेअधिकारी सिटरोल पल्टायर सरुवा गर्छ अनि ट्रेड  यूनियन जाँदा काम गर्न दिएनन भनिन्छ।श्रीमान-श्रीमती फरक जिल्लामा छन एउटै जिल्ला / स्थानमा गर्नुपर्ने  ऐनमै व्यवस्था छ प्रशासक र राजनितिक नेतृत्वले विवरणनै हेर्दैनन अनि हामी पुग्दा उसले बोझ ठान्छ । यिनै बिषयहरुलाई कर्मचारीको हितमा सरुवा होस भनेर हाम्रै संगठनले पनि त्यसलाई व्यवस्थित गर्न एउटा गुनासो व्यवस्थापन समिति बनाएको छ । सकेसम्म त्यसैको माध्यमबाट यी कामहरु गर्ने प्रयत्न हाम्रो रहन्छ।यदाकदा आफुखुशी गर्न पाउदा रमाउनेहरु पनि होलान, समय आए पछि संगठनको दायरामा आउनै पर्छ ।

हाम्रो चाहना सरुवा /पदस्थापना कानून सम्मत होस, विभेद नहोस, कोही अन्यायमा परेको अनुभूति नहोस, सरुवाका ठेकदार हुदाँरहेछन भन्ने निजामति सेवा भित्रकसैले देख्न सुन्न र अनुभव गर्न नपावस भन्ने नै हो ।बिचार, आस्था, नातागोता, चाकडी, लेनदेनले सरुवामा प्रभाव पर्ने गरी सरुवा नभएको हामी देख्न चाहन्छौं ।

६. सरुवामा तपाईलाई अलिबढी प्रहार गरेको देखिन्छ के छ रहस्य ? कमजोरी छ भने सच्याउँनु पनि पर्दैन र ?

सरुवा गर्ने काम सम्बन्धित अधिकारीको हो । साथीहरुको गुनासा आउँदा ती गुनासा कार्यालयसम्म पुर्याइदिनु हाम्रो कर्तव्य हो । यसैले हाम्रो संगठनले वरिष्ठ उपाध्यक्ष लाई यसको प्रमुख जिम्मेवारी तोकेको छ । मैले जिम्मेवारी निर्वाह गर्दा कसैलाई असजिलो भएको छ भने त्यो बेग्लै कुरा हो । पदमा रहुन्जेल देशभरिका सदस्यहरुको काममा म निरन्तर लागिरहने छु । कसैले भन्दैमा, कतै लेखाउदैमा म मेरो कामबाट बिमुख नहुने स्वभाव भएरनै आज यहाँ सम्म आइपुगेको छु ।

मेरै बारेमा पनि अनगर्ल सरुवाका प्रचारवाजी र चरीत्र हत्या गर्ने गरि लेखाएको सुनेकोछु । यी सबै कुराहरु जहिलेपनि आफु आकर्षक कार्यालयमा सरुवाको मापदण्ड र बिधि मिचेर बसेका व्यक्तिहरुले आफु सुरक्षित हुन अर्कोलाई लगाएका कृतिम आक्षेप मात्र हुन।बिशौ उदाहरण छन आवश्यक पर्दा आमनेसामने छलफल गर्दाको बखत छर्लङ्ग हुनेछ ।लेखाको कर्मचारी सरुवा गर्दा विशिष्ट खालको मापदण्ड छ।त्यसैलाई टेकेर सरुवा पदस्थापना गर्ने गरेको छ ।यस पटक केही मापदण्ड बिपरित भएका सरुवा शंशोधन र पुनर्विचार गर्न अनुरोध भने गर्नुपर्ने देखिएको छ।म त एउटा ट्रेड यूनियनकर्मी भएर पनि कार्यालयको काम समेत गरेर अरु सांगठानिक गतिविधि गर्ने कार्यकर्ता हु ।जागिरको प्रारम्भ देखि हाल सम्म मेरो रेकर्ड र विवरणको अध्ययन गर्दा थाह भै हाल्छ नि । प्रारम्भमा चार बर्ष जिल्ला प्रशासन कार्यालय, दुई पटक गरेर नौ बर्ष कोष तथा लेखा नियन्त्रक कार्यालय, दुइ बर्ष महिला बिकास कार्यालय,चार बर्ष जिल्ला प्राविधिक कार्यालय, तीन बर्ष भेडा फार्म  (उल्लेखित सबै कार्यालय उपत्यका बाहिर हुन), छ महिना एडिबि निर्देशनालय , सात बर्ष शान्ति तथा पुनर्निमाण मन्त्रालय र हाल कार्यरत टेकू अस्पताल १ बर्ष ११ महिना गरि मेरो जागिरे जीवन झण्डै ३२ बर्ष व्यतित भएको छ।यसरी सबैको  केलाउँ अनि कस्को के रहेछ, रेकर्ड आफैं बोल्छ ।मेरो आफ्नो बारेमा मलाई चिन्ता छैन तर अहिले संघर्षशील, इमान्दार र संगठनका योद्धाहरुलाई कमजोर पार्न कुनामा बसेर गतिविधि गर्दा संगठन कमजोर बन्छ , त्यसैले यस्ता काम नगरौ, म अनुरोध पनि गर्न चाहन्छु।आज कसैलाई खुइल्याएर भन्दा काममा प्रतिस्पर्धा गरेर श्रेष्ठता प्राप्त गर्न सकिन्छ।म संगठनको कार्यकर्ताको नाताले सबै आफना सदस्यहरु लाई समान मायाँ  र समान व्यवहार गरेर सबैको साझा नेता बन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *