आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

Featured गण्डकी प्रदेश मनोरञ्जन विशेष समाचार समाज स्वास्थ्य

९ चैत, काठमाडौं ।  नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् ।

नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका छन् ।

सांसद् गिरीले आइसोलेसन वार्ड तथा उपकरण तथा अन्य अत्यावश्यक सामग्री संकलनका लागि सहयोग कोषसमेत बनाउने बताएका छन् । सो कोषमा देश विदेशमा रहेका जिल्लाहरूले सहयोग गर्ने र जिल्ला अस्पतालले आइसोलेसन वार्डको व्यवस्थापन गर्ने उनले बताएका छन् ।

गिरीले विज्ञप्तिमा भनेका छन्– सहयोग कोषको व्यवस्थापन जिल्ला अस्पताल पर्वतले गर्ने र अनुगमन, नियमित र प्राप्त सहयोगको संयोजन जिल्ला समन्वय समिति, जिल्ला प्रशासनिक कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाइने छ ।

उनले यस कार्यमा सघाउन स्थानीय तहका जनप्रतिनिधि र देश विदेशमा रहेका सबैलाई आह्वान समेत गरेका छन् । उनले सर्वसाधारणलाई सरकारले जारी गरेका सूचनामा मात्र विश्वास गर्न र सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *