स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा

गण्डकी प्रदेश समाचार स्वास्थ्य

कास्की, २३ मङ्सिर 

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताउनुभएको छ ।

सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले स्वास्थ्य सेवा पाएर स्वस्थ नभएसम्म समृद्धि प्राप्त नहुने भएकाले सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिएको भनाइ मन्त्री गुरुङको छ ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब्रोटरी “युनाइटेड रेफरेन्स ल्याब्रोटरी प्रालि”को पाँचौं वार्षिकोत्सव तथा युआरएल पत्रकारिता पुरस्कार अर्पण समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले प्रदेशमा एक हजार श्याको अस्पताल बनाउने उद्देश्यले बजेट विनियोजन गरेको र त्यसको अध्ययन भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रदेश राजधानीमा एक हजार तथा नगरपालिकामा ५० र गाउँपालिकामा २५ श्याको अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेका छौँ ।”
सरकारले तीनवटा विशिष्टीकृत अस्पताल निर्माण गर्ने योजनाअनुसार मुटु, क्यान्सर र मिर्गाैला रोगको उपचारका लागि अस्पताल निर्माणको लागि अध्ययन भइरहेको तथा बाल तथा मातृ स्वास्थ्यको क्षेत्रमा समेत छुट्टै कोष स्थापना गरिएको मन्त्री गुरुङले सो अवसरमा जानकारी दिनुभयो ।

मन्त्री गुरुङले प्रदेश सरकारले शून्यताको अवस्थाबाट काम शुरु गरेको हुँदा विकास निर्माण लगायत जनताका अपेक्षा पूरा गर्न समय लागेपनि अब मङ्सिर महीनाभित्र अधिकांश कार्यक्रमको कार्यविधि निर्माण भइसक्ने भएकाले त्यसपछि विकासका काम अघि बढ्ने भनाइ राख्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका निर्वतमान कूलपति सरुभक्त श्रेष्ठले यूआरएलले छोटो समयमै मधुमेह तथा थाइराइड रोगका बारेमा जनचेतना जगाउन सफल भई स्तरीय प्रयोगशालामार्फत सेवा दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

संस्थाका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले पाँच वर्षको अवधिमा एक लाख २५ हजार जनालाई सेवा प्रदान गरिएको र जटिल रोगका रक्तपरीक्षण पोखरामै सम्भव भएको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाले स्थापना गरेको युआरएल पत्रकारिता पुरस्कार २०७५ बाट पोखरामा क्रियाशील पत्रकार यदुनाथ वञ्जारा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि नगद रु १५ हजार तथा सम्मान पत्र रहेको छ ।

(रासस) 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *