सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् ।

नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै अघि सारेर नेकपाले बहुमत प्राप्त गरेको कारण सरकार परिर्वतनको बेमौसमी बाजा बजाउँदा जनताले दिएको मतको अवमूल्यन हुने उनले बताए ।

स्थिर सरकार र सम्बृद्धिका लागि नेपाल कम्युनिस्ट पार्टीले संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको भन्दै वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्ने, कानून निर्माण गर्ने कार्यमा पूर्ण रुपमा सफलता प्राप्त गरेको समेत बताए ।

इतिहासमै पहिलो पल्ट उच्च आर्थिक वृद्धिदर कायम गर्न सफल सरकारको विरुद्धमा पार्टी भित्र र बाहिरबाट राजीनामाको माग आउनु आश्चर्यजनक रहेको सांसद गिरीले बताए ।

वर्तमान सरकार गठन भएपछि सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुको नेपाल भ्रमण र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको सुधारका कारणले कुटनीतिक रुपमा विश्व सामु नेपालको गरिमा बढाएको गिरीले दाबी गरे ।

सरकारले सार्क खेलको व्यवस्थापनमा देखाएको उच्च स्तरीय व्यवस्थापन नेपालकै लागि एतिहासिक रहेको गिरीको भनाई छ । ठूला विकास आयोजनाहरुको सुरुवात गर्दै वर्षौ देखि निर्माण सम्पन्न भएका आयोजनाहरु निर्माण सम्पन्न गरेर देशलाई विकासको गतिमा हिँडाउने काममा वर्तमान सरकार सफल भएको दाबी गरे ।

सरकारले गरेका सबै राम्रा कामहरुलाई ओझेलमा पारेर राजनीतिक अस्थिरता ल्याउनका लागि सरकारलाई घेराबन्दी गर्नु लोकतन्त्रकै उपहास रहेको बताए ।

निर्वाचनमा जनताले स्थिर सरकार र राजनीतिक स्थायित्व खोजेका कारण सत्ताधारी दल भित्रका आन्तरिक समस्या भित्रैबाट समाधान गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

तत्कालीन एमालेको नवौ महाधिवेशनबाट अध्यक्ष बनेका केपी ओली पार्टी एकतापछि पनि नेकपाका पहिलो नम्बरका अध्यक्ष बनेका छन् । पार्टीको आगामी महाधिवेशनपूर्व कसैले पनि एकीकृत पार्टीको अध्यक्षबाट हटाउनु पार्टी एकताको मर्म, भावना विपरित हुने गिरीको तर्क छ ।

सरकारले ल्याएका अध्यादेश आफैंमा गलत नहुँदा नहुँदै पनि सरकारलाई विपक्षी मोर्चा समेतसँग मोर्चाबन्दी गरेर अध्यादेश फिर्ता लिन लगाउनु समेत दुःखत भएको गिरीले बताए ।

पार्टी एकताका कतिपय कामहरु नसकिएका कारण सबै निर्णयहरु सर्वसहमत गर्ने यस अघिको सम्झौता भएकाले बहुमत र अल्पमतको गणितीय खेल छाडेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने गिरीको भनाई छ । सांसद गिरी पर्वतबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *