सभामुख महराद्धारा खानेपानीको उद्घाटन

समाचार समाज

घोराही, २१ मङ्सिर 

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आयोजना गरेको घोराही तेश्रो साना शहरी विकास खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत खानेपानी ट्याङकीको सभामुख कृष्णबहादुर महराले उत्घाटन गर्नुभएको छ ।

खानेपानी ट्याङकीको उद्घाटन गर्दै उहाँले प्युठानको माडी नदीको पानी दाङ ल्याउने योजनामा आफू तयार रहेको उल्लेख गर्दै अबको केही समयपछि योजना सार्वजनिक गर्ने तयारी रहेको जानकारी गराउनुभएको छ । अहिले दाङमा देखिएको खानेपानी र सिँचाइको समस्या समाधानका लागि प्रदेश सरकारसँग छलफल भएको र त्यहीअनुसार नै माडी डाईभर्सनको प्लानिङ भइरहेको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा अन्य वक्ताले जिल्लामा दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधानका लागि आकाशे पानीसँगै भूमिगत पानीलाई संरक्षण गर्न ध्यान दिनुपर्ने बताएका थिए ।

ट्याङकी निर्माणमा ६ करोड लागत

घोराही उपमहानगरपालिका–१७ गुलरियामा रु साढे छ करोड लगानीमा खानेपानीको ट्याङकी निर्माण गरिएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नेपाल सरकार (एशियाली विकास बैङ्क)को रु चार करोड ५६ लाख ४३ हजार २४६, नगर विकास कोषको रु एक करोड ६३ लाख एक हजार १५९ र उपभोक्ताको रु ६२ लाख ६० हजार २३१ गरी जम्मा रु ६ करोड ५२ लाख चार हजार ६३७ लगानीमा खानेपानीको ट्याङकी निर्माण गरिएको हो । ट्याङ्कीको ४५० घनमिटर पानी अट्ने क्षमता रहेको संस्थाका अध्यक्ष देवीबहादुर डिसीले जानकारी दिनुभयो ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *