सन्दीप लामिछाने: नेपाली युवा बलर क्यारेबियन लीगमा महँगो मूल्यमा ‘बिक्री’

खेलकुद विशेष समाचार

विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी खरिद बिक्री (अक्शन) मा महँगो मूल्यमा बिक्री भएका छन्।

इङ्ग्ल्यान्डमा बुधवार राति भएको ड्राफ्टमा सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा किनेको जनाइएको छ। त्यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो।

उनी गत वर्ष पनि क्यारेबियन लीग खेलेका थिए।

यी १९ वर्षीय खेलाडीले अहिलेसम्म उनले भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्।

समग्रमा लामिछानेले सबै लीगमा कुल ४२ खेल खेलेर ५३ विकेट लिएका छन्।

उच्च मूल्य

लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो।

सन्दीप लामिछाने   सचिन तेन्दुलकरसँग सन्दीप लामिछाने

आफू नयाँ टोलीमा छानिएलगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “म उत्साहित छु। एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताकासाथ प्रतीक्षामा छु।”

गत सिजनमा उनले खेलेका यस्ता फ्रेन्जाइजी लीगमध्ये लामिछानेले सबैभन्दा बढी अस्ट्रेलियाको चर्चित लीग बिग ब्याशमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ।

त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टी-२० लीग मा ४० हजार डलरमा छानिएका उनले अफगानिस्तान प्रिमियर लिगमा १५ हजार डलर तथा टी-२० लीगमा ३० हजार डलर मूल्य पाएका थिए।

गत वर्षको सिजनमा उनलाई पाँच हजार डलरमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सले किनेको गरेको थियो। आफ्नो टोलीका लागि उनले पाँच खेलमा सात विकेट लिएका थिए।

भारतको चर्चित व्यावसायिक प्रतियोगिता आईपीएलमा गत वर्ष पहिलो नेपाली खेलाडीका रूपमा ३२ लाख रुपैयाँमा अनुबन्ध भएका लामिछानेले त्यसपछि आफ्नो व्यावसायिक जीवनमा पछाडि फर्केर हेर्नुपरेको छैन।

Presentational white space

अरू नेपाली परेनन्

सन्दीप लामिछानेसँगै पहिलो पटक विदेशी व्यावसायिक क्रिकेट लिगको ड्राफ्टमा परेका नेपाली खेलाडीहरू सोमपाल कामी, दीपन्द्र सिंह ऐरी र रोहित पौडेललाई भने कुनै पनि क्लबले खरिद गरेनन्।

यो सिजनको क्यारेबियन प्रिमियर लीग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ।

सीपीएल टी-२० को अघिल्लो सिजनमा उनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सका लागि पाँच खेलमा कुल सात विकेट लिएका थिए।

सीपीएल टी-२० मा कुल छ टोली रहेका छन् । तिनमा बार्बाडोससँगै गुयना एमजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

Source : BBC Nepali sewa

Leave a Reply

Your email address will not be published. Required fields are marked *