विद्यार्थीलाई गाडीमा ३३ प्रतिशत छुट गराउने पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको जीवनी

Featured राजनीति विशेष समाचार

बुद्ध लोप्चन/काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । एकजना आशालाग्दा मन्त्रीको मृत्यु भएपछि मुलुक अहिले शोकमा छ ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका रविन्द्र अधिकारी यस्ता नेता हुन्, जसका नाम विद्यार्थी आन्दोलनको इतिहासमा दर्ज भइसकेको छ । उनै अधिकारीले विद्यार्थीहरुलाई गाडीमा ३३ प्रतिशत छुट गराउने कुराको नेतृत्व गर्दै त्यसको कार्यान्वयन गरेका थिए । प्रस्तुत, छ स्व. मन्त्री अधिकारीको जीवनी ।
युवा अवस्था
बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं. २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस वडा नं. ९ जामुनाबोटमा स्व. रविन्द्र अधिकारीको जन्म भएको हो । उनको विवाह विद्या भट्टराईसँग भयो । विद्यार्थी राजनीतिबाट निकै चर्चित बनेका उनले विद्यार्थी जीवनकालकै प्रेम सम्बन्धलाई वैवाहिक रुप दिएका थि । स्व. मन्त्री अधिकारीकी श्रीमती विद्या त्रिभुवन बिश्वबिधालयमा प्राध्यापन पेशामा संलग्न छिन् । अधिकारीका दुई छोरा छन् ।

शिक्षा र बिद्यार्थी राजनीति यात्रा
स्व. मन्त्री अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनले वि.स. २०४५ सालमा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गरेका थिए ।
१२ वर्षको हुँदा उनले विद्यार्थी राजनीति थालेका थिए । उनी २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए । सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस र क्लबहरुमा संलग्न थिए । बिद्यार्थीका लागि निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी थिए । स्व. मन्त्री अधिकारीको राजनीतिक यात्रालाई तल प्रस्तुत गरिएको छ ।

१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष ।

बिद्यार्थी आन्दोलन र जेल
आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ २०४६ को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायत कालमा पटक–पटक गरी ६ महीना जेल र हिरासतमा बिताए । २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । २०४६ को परिबर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने स्व. रविन्द्र अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरे ।
त्रिबिका स्वबियु सभापति हुँदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गरे ।
शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उनको नाम नमेटीने गरी लेखिएको छ ।

राजनीतिक यात्रा
जनतासँगको निरन्तर सम्पर्क र निकट अधिकारीले कास्की क्षेत्र नम्बर–३ बाट संविधानसभाको दुई पटक चुनाव जिते । त्यससँगै उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत सोही क्षेत्रबाट चुनाव जितेका हुन् । उनको राजनीतिक यात्रा यसप्रकारको छ ।
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वा्चित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. २०७४ मा प्रतिनिधिसभा सदस्य ।
१०. नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य ।
कृति र प्रकाशन
स्व. रविन्द्र अधिकारीका प्रकाशित पुस्तकहरु यस प्रकार छन ः
१. संविधानसभा ः लोकतन्त्र र पुनर्संरचना
२. समृद्ध नेपाल
विदेश भ्रमण
अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे लगायतका देशहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *