पाँचखालका प्राचिन सम्पदा क्षेत्रमा माटो झिक्न र डोजर चलाउन प्रतिबन्ध

Featured समाचार

राजकुमार पराजुली
काभ्रेपलाञ्चोक,  मङ्सिर २९ गते । जिल्ला प्रशासन कार्यालयले पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले आज सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति तथा सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको हो ।

विभागले आर्थिक वर्ष २०७५/७६ मा वडा नं ७ श्रीरामपाटीस्थित मालटार, रानीपोखरी, सिमालीघारी क्षेत्रमा उत्खनन् गर्दा जमीनको सहतमुनि पुरातात्विक संरचना फेला परेकाले उक्त क्षेत्रमा खनजोत गर्न रोक लगाएको हो । खोज तथा अनुसन्धानका क्रममा नगर क्षेत्रमा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएका गत कात्तिकमा पुष्टि भएको थियो । गत जेठमा नगरपालिकाको श्रीरामपाटीस्थित खेतमा उत्खनन्का क्रममा भेटिएका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदन पुरातत्व विभागले तयार पारेको हो ।

उत्खनन्मा सहभागी पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा साविक होक्से गाविस–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिका खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ । वरिष्ठ पुरातत्वविद् आचार्यले उत्खनन्का क्रममा भेटिएका अन्य आकारका इँट्टा र अँगारको थप अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो ।

आचार्यका अनुसार श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन् गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । उहाँले भन्नुभयो, “उत्खनन् क्षेत्रको संरक्षण र अवैध उत्खनन् रोक्नु आवश्यक छ ।” स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाइ ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

श्रीरामपाटीमा लिच्छवीकालीन् संरचनाको भग्नावशेष तथा सामग्री रहेको र उत्खनन् गर्न स्थानीयले नै माग गरेपछि जेठ महिनामा पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खनन्का गरेको थियो । पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो कोठा कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटाका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिव लिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँट्टा भेटिएका थिए ।

स्थानीय बुढापाकाले श्रीरामाटी क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँट्टा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेका बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान गरेको हो ।

यस्तै, वडा नं ६ स्थित महाङ्काल मन्दिरमा गत वर्ष भेटिएको सबैभन्दा सानो सिक्का चाँदीको मुद्रा (जाभा) विश्वकै सानो तथा नेपालकै पुरानो मानिएको छ । उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । पुरातत्व विज्ञ आचार्यका अनुसार भोगिनी ‘पाली’ भाषा हो । उहाँका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैठौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।

गत असोजमा भारतीय पुरातत्व विभागका दुई खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले पनि खोज अनुसन्धानकै क्रममा वडा नं १३ स्थित तेमालबेंसीमा सुनकोशी नदी तथा झिकू खोलाको दोभानमा पहिलोपटक प्राचीन किराँतकालीन अवेशष स्तम्भ फेलापरेको थियो । पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धिमालका अनुसार उक्त स्तम्भमा किराँत धर्मालम्बीले पूजा गर्दा बनाउने चित्रको आकृति भएको विज्ञले बताएका छन् ।

धार्मिकग्रन्थमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोशी नदी उत्पत्तिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोशी नदी र झिकुखोलाको दोभान तेमालबेंसी नै रहेको बताइन्छ । पाँचखालका बासिन्दाले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा वडा नं ९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।    source:https://gorkhapatraonline.com/

Leave a Reply

Your email address will not be published.