न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्

विशेष समाचार

कैलाली, २९ मङ्सिर 

न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्षमा पुग्न नसकेपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा उनीहरू जुटेका हुन् ।

द्वन्द्वपीडित साझा चौतारीले सातै प्रदेशमा ‘सत्यको बयान’ अभियान शुरु गरेको छ । सत्य बाहिर ल्याउने अभियानका क्रममा चौतारीले यही मङ्सिर १७ गते सिराहाबाट उक्त अभियान शुरु गरेको थियो । पहिलो चरणमा प्रदेश नं २, ७ र ४ मा तथा २५ गते प्रदेश ५, ६ र ७ मा द्वन्द्वपीडितसँग उक्त अभियान चलाइएको हो ।

कैलालीमा आयोजित उक्त अभियानमा बाँके जिल्लाकी सुनिता पाठकले भन्नुभयो, “पीडित आफैँले आवाज नउठाएसम्म न्याय पाउने देखिँदैन, आयोगको भर छैन, पीडित आफैँले सत्य बाहिर ल्याउनु जरुरी छ ।”

आफ्नो बहिनी २०६२ सालमा कोहपुरबाट बेपत्ता भएपछि हालसम्म सास र लास दुवै फेला नपरेकोे उहाँको गुनासो छ । “पीडित पक्ष सत्य कुरा बाहिर आओस् भन्न चाहान्छन् । मेरो बहिनी मरी भने मरी भनिदिउन्, जीवित भए यहाँ छ भनिदिउन्”, सुनिताले थप्नुभयो, “ न सास नत लाससमेत नपाउँदा हामी यतिका वर्ष उनलाई नै खोजिरहेका छौँ ।”

बाँकेकी गीता साहलाई द्वन्द्वका समयमा दिइएको यातनाले अहिलेसम्म राम्रोसँग उनको शरीरले काम गर्दैन । साहले आफ्नो खुट्टामा अझै बन्दुकको छर्रा बाँकी रहेको देखाउँदै भन्नुभयो, “राज्यले उपचार खर्च रु ४० हजार दियो तर जीवनभर उपचार गर्न आफ्नो सबै सम्पत्ति बेचेर पनि नपुग्ने भयो ।”

उक्त अभियानमा यस्तै पीडा अन्य २० द्वन्द्वपीडितले सुनाए । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा धेरै निर्दोष नागरिक मारिए, बेपत्ता भए, अङ्गभङ्ग भए र घरबारविहीन पनि भए । ती पीडामा अझै द्वन्द्वरत पक्षले मलम लगाउन सकेको छैन ।

चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले शान्ति सम्झौता भएको १२ वर्ष हुँदा पनि र आयोग गठन भएको चारवर्ष बितिसक्दा पनि पीडितले कम्तीमा खुलेर आफ्ना पीडा सुनाउनसमेत नपाएको हुँदा ‘सत्यको बयान’ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो सङ्घर्ष, भोगाइ र अनुभव पीडितबीच सुनाउँदा पनि मन हलुका हुन्छ, मलाई मात्र होइन अरुलाई पनि पीडा रहेछ भनेर थाहा पाइन्छ ।” चौतारीले पीडितको आवाजलाई एकीकृत गरेर न्यायका लागि आवाज उठाउन दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएकोे हो । पोखरामा आगामी पुस २ गते सो अभियान सञ्चालन गर्ने चौतारीको तयारी छ । (रासस) 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *