गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी

समाज

जाजरकोट, ११ मङ्सिर 

छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउनुहुन्छ ।

उहाँकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माउनुभयो । भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पु¥याउनु भएको हो । पहिला घर नजिक सुत्केरी केन्द्र थिएनन् । अहिले घरदेखि दुई घण्टाको दूरीमा अस्पताल छ ।

उहाँजस्तै छेडागाड–८ का पातली विक पनि दुई बच्चाकी आमा हुन् । पहिलो सन्तान घरमै जन्माउनुभएकी उहाँले दोस्रो बच्चा सुत्केरी केन्द्रमा गएर जन्माउनुभयो । सुत्केरी केन्द्रमा गई बच्चा जन्माउँदा उहाँले रु दुई हजार २०० समेत बुझेर ल्याउनुभयो । “घरमा सुत्केरी हुँदा धेरै रगत बग्ने गर्दथ्यो, अस्पताल गएपछि सजिलो भयो,” उहाँले भन्नुभयो । विकले जस्तै अहिले छेडागाड नगरपालिकाका सुत्केरीले सुत्केरी केन्द्रमा गई बच्चा जन्माउने गरेका छन् ।

छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएको छ । साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ । छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहका अनुसार अघिल्लो आवमा सुरक्षित रूपमा सुत्केरी गराउनेको सङ्ख्या ११६ थियो । चालु आवको चार महीनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएका छन् ।

सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ । विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउँदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको सङ्ख्या बढेको छ । कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *