गूगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्दै, गूगलका टुल र आइडिया सिकाउने

विशेष समाचार सूचना-प्रविधि

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गूगल बिजनेस ग्रुप काठमाडौंले यहि पुस २१ गते शनिबार स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने भएको छ ।

जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी भएको आयोजकको दाबी छ ।

सो मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा विशेष गरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपरहरु र प्रतिनिधिहरू सहभागि हुने अपेक्षा आयोजकको छ ।

‘जिबिजि बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । यस कार्यक्रमका सहभागिहरुले गूगलका नयाँ टुल र आइडिया सिक्ने अवसर पाउनेछन् जुन उनिहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्वपूर्ण हुनेछ,’ गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवालले भने ।

कार्यक्रममा गूगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक तीन हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधिहरु सम्बन्धि कार्यशाला प्रस्तुत गर्नेछन् ।

साथै, प्रदर्शनीमा ‘गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टलमार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भएपश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यबसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।

धेरै भन्दा धेरै स्टार्टअपहरु लाभान्वित होउन् भनेर मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको र अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *