कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा चीनभन्दा इटाली अगाडी आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहानसम्म इटालीमा मर्नेको संख्या ३४०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै इटालीमा यस भाइरसको कारण ४२७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । चीनमा हालसम्म मर्नेको संख्या ३२४५ छ । संक्रमितको संख्या हालसम्म चीनमा करिब ८१ हजार इटालीमा करिब ४१ हजार छन् ।
संक्रमितको हेरचाहमा खटिएका परिवारका सदस्यहरु पनि संक्रमित हुँदा इटालीमा संक्रमितको संख्या बढिरहेको हो । चीनमा भने पछिल्लो समय यस भाइरसबाट कसैको ज्यान गएको छैन।
इरानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १२८४, त्यसपछि स्पेनमा ८३३, फ्रान्समा २४३ को मृत्यु भएको छ । चीनबाट सुरु भएको कोभिड–१९ कोरोना भाइरसको प्रभाव चीनमा कम हुँदै गएपनि युरोपियन राष्ट्रहरुमा तीब्र गतिमा फैलिरहेको छ । सुरुमा चीन पछि धेरै फैलिएको दक्षिण कोरियामा भने नियन्त्रण मै देखिन्छ । कोरियामा हालसम्म ९४ जनाको मृत्यु भएको छ ।