उदयपुरमा भीषण आगलागी : १२ घर-गोठ जलेर नष्ट, ५४ वटा चौपाय मरे

Featured समाचार समाज

गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् ।

गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सातवटा गोठ जेलर ध्वस्त भएका छन् ।

उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार दिउसो १ बजे कमल कार्कीको घरबाट आगो लाग्न सुरु भएको थियो । आगोले एक घण्टाभित्रै पाँचवटा घर र सातवटा गाई, गोरु बाँध्ने गोठ जलेर ध्वस्त भएको राईले बताए ।

आगोले कमलको एउटा घर, दुईवटा गोठ, विदुरको एउटा घर र एउटा गोठ, दीपकको एउटा घर र दुईवटा गोठ, राजेन्द्रको एउटा घर र एउटा गोठ तथा ज्ञानबहादुरको एउटा घर एउटा गोठ जलेर नष्ट भएको हो ।

घटनामा ६६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हावा चलिरहेका कारण लहरै रहेका घरमा आगो चाँडो फैलिएर ठूलो क्षति पु¥याएको प्रहरीको भनाइ छ ।

उदयपुरमा बिहानैदेखि हावा चलिरहेको थियो । आगोले काठबाट बनेका परालको छाना भएका घर तथा भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, सुनचाँदी, महत्वपूर्ण कागजपत्र लगायत सबै धनमाल जलेर नष्ट भएको एसपी राईले बताए ।

प्रहरीले साँझ ७ बजे मात्रै आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सकिएको जनाएको छ । आगो नियन्त्रणका लागि प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा खटिएका थिए । गाउँपालिकासँग आगो निभाउने दमकल नभएको र वरपर पानीका कुनै स्रोत नभएका कारण आगोबाट ठूलो क्षति पुगेको प्रहरीको भनाइ छ । गाग्रोमा पानी बोकेर र माटोको प्रयोग गरेर नियन्त्रणको प्रयास गरिए पनि समयमै नियन्त्रणमा लिन नसक्दा आगोले सबै ध्वस्त बनाएको स्थानीय बासिन्दाले बताए ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाउँदै कमलको चुल्होमा बालेको आगो घरमा सल्किएको हुनसक्ने आशंका गरेको छ । आगलागी पीडितलाई तत्कालका लागि स्थानीय हर्रोभन्ज्याङ आधारभुत विद्यालयमा राखिएको छ ।
उनीहरुलाई स्थानीय तहबाट खानेकुराको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताए । उनले पीडितलाई थप क्षतिपूर्तिका लागि पहल थालिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *