उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने

Featured गण्डकी प्रदेश विशेष समाचार समाज

बागलुङ, २५ पुस – राष्ट्रिय गौरवको योजनाको रुपमा सूचीकृत उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने जलविद्युत कम्पनीले योजना अगाडि सारेको छ । हाल डिपिआरको चरणमा रहेको यो आयोजना तोकिएकै समयमा सकेर बिद्युत उत्पादन गर्ने प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए । कम्पनी मोडलमा बनाउने सरकारले निर्णय गरेपछि यो कम्पनीले डिपिआरको काम गरिरहेको छ । ढोरपाटन उपत्यकामा बनाईयो यो योजनाबारे सरकोकारवालासँग छलफल गर्न बिष्ट बागलुङको बुर्तिवाङ आएका थिए । उनले समयमै काम सक्नका लागि चुलिएका बिबाद अन्त्य गरी निसीखोलामा पानी खसाल्ने गरी आयोजना बनाउने बताए । लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने वा रुकुमतर्फ पठाउने भन्ने बिबाद थियो । आयोजना निर्माणको क्रममा गण्डकी प्रदेशकै पहिचान र समृद्धिको आधार बनाउन पहल गरेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । ‘हाम्रो पहिचानमा जोडिएकोले उत्तरगंगा छिटो बनाउन सबै पहल थालिनेछ’ नेपालीले भने, ‘कम्पनीले पनि काम गर्ने मनसाय राखेकोले काममा सहयोग गर्ने वातावरण बनाएका छौं ।’ स्थानीयले पनि आयोजनाको काम छिटो गर्न सुझाव दिएका छन् ।

‘ढोरपाटन संसारकै आर्कषक र राम्रो पर्यटकीय क्षेत्र हो, यहाँ विद्युत उत्पादन गर्दा उर्जासंगै हजारौं पर्यटक भित्राउन सकिन्छ’ स्थानीय भीमबहादुर श्रेष्ठले भने, ‘देशको आर्थिक बिकासको मेरुदण्ड बनाउन ढिला गर्न हुँदैन ।’ जलासययुक्त आयोजना बनाउँदा यहाँका ५ सय १२ घर बिस्थापित हुनेछन् । बिस्थापित हुनेले पनि आयोजना बन्नुपर्ने सुझाव दिएका हुन् । आयोजनाबाट ८ सय २८ मेगावाट क्षमताको बिजुली उत्पादन हुने अनुमान छ । बुढीगण्डकी लगायतका धेरै आयोजना भन्दा कम क्षति र थोरै मानिस बिस्थापित भएर यो आयोजना निर्माण हुनेछ । कम्पनीले आगामी सन् २०८३÷०८४ सम्ममा विद्युत उत्पादन हुने गरी काम गर्ने संकेत गरेको हो । ‘अहिले वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम भैरहेकोले ठोस उपलब्धी नदेखिएको हो’ बिष्टले भने, ‘भौगोलिक सर्भेक्षणमा हामीले प्राविधिक खटाइरहेका छौं ।’ जलासयले घरहरु बिस्थापित हुने भएकोले त्यसको तयारी, मुआब्जा बितरण लगायतमा काम गर्नुपर्ने उनले बताए । ढोरपाटन शिकार आरक्षणको क्षेत्र समेत भएकोले वन मन्त्रालयले स्विकृति दिनुपर्ने प्रावधान छ । राष्ट्रिय गौरवको आयोजना भएकोले स्विकृतिलाई समस्या नहुने तर प्रकृयामा भने जानुपर्ने आरक्षका प्रमुख अणराज बरालले बताए । ‘आरक्षणको कति क्षेत्र प्रभावित हुन्छ भन्ने तथ्यांक निकाल्दैछ’ बरालले भने, ‘भूगोलको अध्ययनमा कम्पनी र हामी संयुक्त अनुगमन गर्नेछौं ।’ सरोकार समितिमा समेत आरक्षको प्रतिनिधित्व भएकोले निर्माणमा सहयोग गर्ने उनले बताए ।

ढोरपाटनको उत्तरगंगालाई जलासययुक्त बनाएपछि निसीखोलामा पानी खसालिनेछ । पानी कता खसाल्ने भन्ने बिबाद नगरी निसीखोलामा झार्ने बिष्टले स्पष्ट पारेका हुन् । जापान र नेपाली ईन्जिनियरहरुको टोलीले यो आयोजनाको विस्तृत सर्भेक्षण र नक्सांकन गरेका छन् । जापानीले गरेको नक्सांकनमा ८ सय २८ मेगावाट क्षमता उत्पादन हुनेछ । नेपालीको अध्ययनले कुलेखानी मोडलमा बनाएर १ हजार ६ सय मेगावाट बनाउन सकिने संभाव्यता पत्ता लगाएको उत्तरगंगा जलविद्युत कंपनीका पूर्व प्रमुख शिव गिरीले बताए । ‘दुई तिनवटा आयोजना एउटै पानीबाट बनाएर कालीगण्डकी नदीमा बहाव थप्न सकिन्छ’ गिरीले भने, ‘यसरी बनाउँदा पानीको मात्रा थपिएर कालीगण्डकी ए आयोजनाले हिउँदमा पनि १ सय ४४ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न सक्छ ।’ हाल उत्तरगंगाको पानी भेरी नदीमा गएर मिसिएको छ । निर्माणपछि यो पानी पूर्वतर्फ बडिगाढमा मिसिएर कालीगण्डकीमा पुग्नेछ । आयोजना स्थल पुग्न भौगोलिक कठिनाई भएकोले सडकको स्तरउन्नती पहिलो प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ । उनीहरुले स्वास्थ्य उपचार, शिक्षा र अन्य आवस्यक कामका लागि समेत सहज यात्रा गर्न सकेका छैनन् । ‘आयोजना बनाएमा बाटो राम्रो हुने आसा गरेका छौं’ स्थानीय कुमारी बिकले भनिन्, ‘मुआब्जा दिने भएपछि बिस्थापित भएपनि बिकास आउनुपर्छ ।’ विद्युत र टेलिफोन अभावमा यहाँका मानिसले सास्ती खेपेका छन् । आयोजना निर्माण भएमा यहाँ विद्युत उत्पादन हुने तथा अन्य सेवा भित्रिने आस गरेका हुन् ।

यहाँको केही जमिन दलदले समेत छ । ‘दलदलेमा खेती पनि लाग्दैन त्यसैले डुबान हुनुभन्दा बिकास आवस्यक छ’ स्थानीय पूर्ण घर्तीले भने, ‘राजनीतिकरणले ढिलाई भएकोले अब सबैले आयोजना समयमा निर्माण गर्नेतर्फ लाग्नुपर्छ ।’ आयोजना बनाउँदा सयौं स्थानीयले रोजगार पाउने उनले बताए । डुबान बाहिरको क्षेत्रमा आलु फलाएर आम्दानी गर्न सकिने किसानले बताए । आयोजना स्थलमा रहेका अधिकांस घर अस्थायी प्रकृतिका हुन् । अत्याधिक चिसोको समयमा यहाँका धेरै मानिसले घर छाडेर बेसी झर्छन् । उनीहरुले खेतीपाती र पशुचरणका लागि मात्र ढोरपाटनमा बस्ने गरेका हुन् । ढोरपाटनबाहेक बुकी लेकमा पनि उनीहरु पुग्ने गरेका छन् । यो आयोजनाका लागि १ खर्ब ७० अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । समयमा निर्माण गर्न सकेमा यो खर्च कम्पनीले छिटै फिर्ता पाउन सक्ने समेत गिरीले बताए । ‘अबका आयोजना जलासययुक्त नै बन्नुपर्छ’ गिरीले भने, ‘हिउँदमा सुक्ने खोला र नदीको भर पर्दा हामीले विद्युतमा लगानी मात्र गरेर फाईदा लिन सक्दैनौं ।’ तनहुँसेती, बुढीगण्डकी जस्ता आयोजनाले मात्र बर्षभरी नियमित विद्युत उत्पादन दिन्छन् ।

 

-janamanch

Leave a Reply

Your email address will not be published. Required fields are marked *