सांसद भएकाे एक वर्ष पुगे सँगै सांसद गिरीले ल्याए अहिले सम्मकाे उपलब्धि र भावी याेजना

गण्डकी प्रदेश विशेष समाचार
 

  पाेखरा ,२१ मङ्सिर

 प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नो थप कार्य योजना सार्वजनिक गरेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तरले विजयी भएका सांसद गिरीले आफू विजयी भएको बर्ष दिन वितेको अवसरमा जिल्लाका लागि आफूले गरेका प्रयासहरुको बारेमा पत्रकार सम्मेलन मार्फत आफ्ना उपलब्धिहरु सार्वजनिक गरेका हुन ।

तत्कालीन नेकपा एमालेको तर्फबाट सांसद बनेका गिरीले एक बर्षको अवधिमा प्रतिनिधि सभा मार्फत कानून निर्माण कार्यमा आफू सक्रिय रहेको बताए । उनले यो अवधिमा जिल्लाबासीले विकास निर्माणमा अनुभूति गर्ने गरी आफूले काम गरेको दावी गरेका छन ।

पर्वतमा हालसम्म कुनै पनि ग्रामीण सडकहरु कालोपत्रे नभएको दुःखसो जनताले गरीरहेको भन्दै सांसद गिरीले केहि सडकहरु कालोपत्रेको चरणमा पुगिसकेको र केहि सडकहरु कालोपत्रेको प्रक्रियामा रहेको जानकारी दिए । सडक कालोपत्रे, एक घर एक धारा, सिंचाई र कृषि क्षेत्रको विकास, पर्यटन र खेलकुद आफ्नो मुख्य प्राथमिकतामा रहेका क्षेत्रहरुको रहेको भन्दै गिरीले यी सवै क्षेत्रमा आफ्नो कार्यकाल भरी देखिने गरी उपलब्धि हासिल हुने दावी गरे ।

स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य र रोजगार सृजनाका अवसरहरुमा सहयोग गर्न आग्रह गर्दै प्रदेश र संघिय सरकारले ठूला र उपलब्धि देखिने विकासका कामहरुमा सहयोग गर्ने समेत उनले बताए । ‘निर्वाचनको बेला बोलेका कुनै पनि प्रतिबद्धता भुलेको छैन’ सांसद गिरीले भने–‘जिल्लाका मुख्य मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता पुरा गरेरै छाडिन्छ ।’ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तत्कालीन बामगठन्धनको तर्फबाट साझा एजेण्डा र घोषणा पत्र मार्फत आफूहरु जनतासंग मत मागेको स्मरण गर्दै ति प्रतिबद्धताहरु पुरा गर्न प्रदेश सरकार र संघिय सरकार संवेदनशिल रहेको गिरीले बताए ।

सांसद गिरीले वारीवेनी–बगरफाँट–बाँसखर्क सडक, दोविल्ला–सिल्मी–ठुलिपोखरी सडक, पातिचौर–देउपुर–लप्सिबोट सडक, डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडक र अर्मादी–खुर्कोट–बनौ सडक निर्माणको चरणमा गईसकेकाले केहि बर्षमा यी सडक पुरा हुने विश्वास दिलाए । उनले प्रदेश सभा क्षेत्र न २ अन्तर्गत रहेका लमायखोला–लुंखु सडक, मु्डिकुवा–लमायखोला सडक समेत निर्माणकै चरणमा रहेको भन्दै प्रदेश सभा क्षेत्र न २ मा बाँकी सडकहरु समेत कालोपत्रेको चरणमा छिट्टै लगिने स्पष्ट पारे ।

सांसद गिरीले क्षेत्र न १ अन्तर्गत रहेका वारीवेनी–माझफाँट–लेकफाँट सडक, मिलन चोक–लेकफाँट–शालीजा सडक, मिलनचोक–धाइरिङ सडक कुश्मा–दुर्लुङ–क्याङ–सडक, सहस्रधारा–तार ततरकोट– बनौ सडक, पातिचौर–बाजुङ–क्याङ सडक, साइकलचोक–ठुलिपोखरी–खौला सडक, दोविल्ला–पकुवा–गगटे–आर्थर सडक कालोपत्रेको चरणमा लैजान प्रदेश र संघिय सरकारमा आफूहरुले पहल गरीहेको समेत जानकारी दिए ।

यसैगरी सांसद गिरीले क्षेत्र न २ अन्तर्गतका चिसापानी–हातेमालो चोक–बर्राचौर सडक, लुंखु–पाखापानी–भोर्ले–हुवास सडक कार्किकेटा–थापाठाना–शंकरपोखरी–खानीगाउँ–जैमिनी सडक दोविल्ला–फलेवास ढिक सडक, लुंखु मिलनचोक–बालाकोट–होश्राङदी सडकलाई पनि आफूहरुको कार्यकालमा कालोपत्रे जसरी पनि गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । संघ र प्रदेशको प्राथमिकतामा राखिएका यी मुख्य सडकहरु कालोपत्रे हुनेमा उनले विश्वास दिलाए ।

हालसम्म झण्डै २४ प्रतिशत घरधुरीले मात्र एक घर एक धारा अन्तर्गत खानेपानीको प्रयोग गरीरहेको भन्दै अवको ४ बर्षमा अधिकांश जनसंख्याले एक घर एक धारा मार्फत स्वच्छ पिउने पानी खान पाउने गरी जिल्लामा काम भईरहेको उनले संकेत गरे । पर्यटन प्रवद्र्धन, खेलकुद ग्रामको स्थापनामा समेत आफूले पहल गरीरहेको गिरीको भनाई छ ।

संसदमा जिल्लाको सघन प्रतिनिधत्व भएको भन्दै जिल्लाका सवै विकास निर्माणका कामहरुको सुपरीवेक्षण गर्दै रोकिएका र अवरुद्ध भएका मोटरेवल पुलहरुको कामहरुमा समेत तिव्रता दिने गरी आफूले पहल गरीरहेको गिरीको भनाई छ । उनले देविस्थान–कुर्घा जोड्ने लमायखोला पुल, भुरुङदीखोला मोटरेवेल पुलको कामलाई तिव्रता दिन आफूले फिल्डमै पुगेर निर्माण पक्ष र कार्यालयलाई निरन्तर दबाव दिईरहेको उल्लेख गरे ।

यसैगरी नयाँपुल शेरावेसी मोटरेवल पुल, झाप्रेबगर मोटरेवल पुल, सेदी खोला मोटरेवल पुल हुवास, कल्लेरी मोटरेवल पुलको काम पनि क्रमशः अगाडि बढाउने गरी योजना गरिएको गिरीको भनाई छ ।

प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई जनताले दिएको मतको दुरुपयोग नहुने गरी जनतालाई नै सम्झेर जनताको काममा लागि परेको गिरीले जानकारी दिए । सांसद गिरीले निकटम प्रतिद्धन्द्धीलाई १२ हजार ४ सय ५६ मतान्तरले हराउँदै प्रतिनिधि सभामा विजयी भएका थिए । आजकै दिन प्रतिनिधि सभाको मतदान भएकाले गिरीले आजकै दिन एक बर्षको समिक्षा तथा भावी योजनाहरु प्रस्तुत गरेका हुन ।

source :loktentra online

Leave a Reply

Your email address will not be published. Required fields are marked *