काठमाडौँ — कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (CSIT) अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उपप्राध्यापक पदको छनोट प्रक्रियाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका छन्। सेवा आयोगले ‘आंशिक समकक्षता’ (Partial Equivalency) का आधारमा अयोग्य उम्मेदवारलाई अवसर दिएको उनीहरूको आरोप छ।
प्रदर्शनस्थलमा टाँसिएको ब्यानरमा “CSIT मा राजनीति चाहिँदैन, आफ्ना अयोग्य मान्छे घुसाउन पाइँदैन” जस्ता नाराहरू लेखिएका छन्। विद्यार्थीहरूले कम्प्युटर विज्ञान पदका लागि विषय समितिले प्रस्ताव गरेबमोजिम ‘पूर्ण समकक्षता’ (Full Equivalency – ७०% भन्दा बढी विषय मेल खाएको) अनिवार्य हुनुपर्ने माग राखेका छन्।

विद्यार्थीहरूका अनुसार आयोगको यो कदमले योग्य CSIT विद्यार्थीहरूको हक-अधिकारमा गम्भीर आघात पुर्याएको छ। ‘स्टुडेन्ट एशोसिएशन अफ कम्प्युटर साइन्स’का सचिव केशव बनियाँले आयोगको निर्णयले पारदर्शिता र मेरिट प्रणाली (योग्यता प्रणाली) माथि प्रश्न उठाएको बताएका छन्। उनले मागहरू सम्बोधन नभएसम्म आन्दोलन र अनसन जारी रहने चेतावनी दिएका छन्।
यस विषयमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन।

