म्याग्दीमा भेटियो दुर्लभ राजनाग

गण्डकी प्रदेश समाचार

गलेश्वर  

म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ ।

विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी प्राणीशास्त्र उत्र्तीण त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले आज कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नुभएको हो ।

किङ्ग कोब्रालाई नेपालीमा काली नाग राज भनेर चिनिन्छ । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी उहाँले बताउनुभयो ।

अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताउनुभयो । सो सर्पलाई नचलाउने, नजिस्काउने र नजीकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ ।

भेटिएको सो नाग किङ्ग कोब्रा अर्थात् राज नाग नै भएको किङ्ग कोब्राका विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।

विशेषज्ञ थापाका अनुसार यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ । कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उहाँले जानकारी दिनुभयो । नेपालको कानूनले संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *