लघुकथा : विकसित संस्कृति

आज को बिचार समाज

“मैले दोकान मा बर्खेफल देखेर ल्याकी छू । ८ गते भइसकेछ । तर मुख मा परेको छैन । तरकारी किन्न गएकी श्रीमती एसो भन्दै घर भित्र छिरिन् ।”
म ल्यापटप चलाउँदै बैठक कोठा मा बसिरहेको थिएँ । छोरी भान्छा मा थिई र छोरो बाथरुम छिरेको थियो । तरकारी का बीच मा काँक्रो देखेर छोरी बोली “आज काँक्रा को अचार म बनाउँछू ।”
“मुख मा नपर्दै नाम काढी एस्ले ।” श्रीमती रिसाइन् ।
“अनि काँक्रो लाई काँक्रो नभनेर लौका भनूँ त ?” छोरी पनि कम थिइन ।
“क्यै थाहा छैन अचेल का भुराभुरी लाई । यो संस्कृति भन्ने कुरो ।”
“यी सब अन्धविश्वास हुन् । एस्ता कुरा मा अल्झेर बस्न हुँदैन ।” बाथरुम बाट निस्केको छोरो कराउँदै भान्छा तिर पस्यो ।
“एति मानेर तेरो के बिग्रन्छ ? भन् त । कार्तिक महीना मा सर्प को नाम लिनु हुन्न । देखे पनि अगति परिन्छ । अनि मंसीर मा मुख मा नपरुन्जेल काँक्रा को नाम काढ्नु हुँदैन ।”
“यी सब वाहियात कुरा हुन् ।”
“आमा ले भनेको कुरा लाई तेसरी उडाउन हुन्न दादा । मैले त कार्तिक मा टीभी हेर्दा पनि सर्प देखें भने कास्की गएँ न्वाएँ आएँ तिलपानी खाएँ भन्छू ।”
“तेसो हैन- ‘काशी गएँ, न्वाएँ आएँ, जौ तिल खाएँ बिराएँ बिराएँ’ भन्नु पर्छ । संस्कृति हामीले नजोगाए कस्ले जोगाउँछ ? भनो त ।” श्रीमती ले सिकाउँदै थिइन् । उनीहरुका कुरा ले मलाई बचपन याद आयो।
‘तीतो तीतो जा मीठो मीठो आ ! तीतो तीतो जा. . .’ एति भनेर काँक्रा को तितौरी काटिसके पछि आमा ले काँक्रा को टुप्पो काट्ने बेला मा बढौरी खाने कुरा लाई लिएर बहिनी र मेरा बीच मा झगडा हुन्थ्यो । हाम्रा दिमाग मा कता कता बाट काँक्रा को बढौरी खाए पछि छिट्छिटो बढिन्छ भन्ने धारणा ले जरो गाडेको थियो । बहिनी म भन्दा धेरै नै होची थिई त्यै भएर बढौरी प्रायः उसैले पाउँथी। रमाइला थिए ती दिनहरु । रमाइला का लागि संस्कृति को निर्माण भएको थियो होला ।
“अब त्यो काँक्रो सम्बन्धी संस्कृति को काम छैन । पैला पैला बर्खा मा मात्रै हुने भएकाले मंसीर सम्म जोगाऊन् भनेर तेसो भनिएको थियो होला । अचेल त बाह्रैमासा काँक्रो । अब त्यो संस्कृति को विकास आवश्यक छ ।” छोरो भन्दै थियो । मलाई पनि लाग्यो हामी विकसित सँस्कृति का पक्ष मा हुनु पर्छ । मैले पनि छोराछोरी लाई साथ दिँदै भनें “बाबु ! मलाई पनि एउटा टुक्रो काँक्रो ले त ।” श्रीमती ले रिसाउँदै मलाई हेरिन् । म फेसबुक तिर झुकें ।

Lok Mani Poudel

Leave a Reply

Your email address will not be published. Required fields are marked *